पुष्पराज खतिवडा
मनहर्वा,राष्ट्रिय भूमि आयोग बाराले जीतपुरसिमरा उपमहानगरपालिका वडा नम्बर १८ स्थित बडहर्वामा दलित, सुकुम्बासी र अव्यवस्थित बसोबासीलाई वितरण गर्ने जग्गाको नापी सुरु गरेको छ ।अघिल्लो वर्ष वडा कार्यालयले वितरण गरेको निस्साको आधारमा जग्गाधनी पूर्जा उपलब्ध गराउन आयोगले बुधवारदेखि नापी सुरु गरेको हो ।

निस्सा वितरण भएपनि समयमै नापी नहुँदा भूमिहिन दलित, भूमिहिन सुकुम्बासी र अव्यवस्थित बसोबासमा रहेका परिवार अन्यौलमा थिए । वडा कार्यालयले आफ्नो वडा क्षेत्रभित्रका भूमिहिन र अव्यवस्थित बसोबासमा रहेका नौ सय १५ परिवारलाई निस्सा वितरण गरेको थियो ।भूमि आयोग बाराका अध्यक्ष छविलाल उप्रेतीसहित प्राविधिक टोलीको उपस्थितिमा नापी सुरु गरिएको हो । टोलीले साविकको भोडहा गाविस ६ (ग) को कित्ता नम्बर १९ लाई आधार मानेर नापी कार्य गर्ने बताइएको छ ।

आयोगद्धारा नापी सुरु भएसंगै आवास र भूस्वामित्व सुनिश्चित हुनेमा भूमिहिन सुकुम्बासी र अव्यवस्थित बसोबासी आशावादी देखिएका छन् । जीतपुरसिमरा वडा नम्बर १८ का वडाध्यक्ष चतुरबाबु वाग्लेले पटकपटकको आग्रहपछि नापी सुरु भएको बताउनुभयो । नापी नभएसम्म अन्य कामअघि बढ्न नसक्ने भन्दै वडा अध्यक्षसहित जनप्रतिनिधिले नापी सुरु गर्न आयोगको ध्यानाकर्षण गराउँदै आएका थिए ।नापी सुरु गर्ने क्रममा आयोगका जिल्ला अध्यक्ष उप्रेतीसहित विज्ञ सदस्य केदारप्रसाद गौतम, सदस्य कलावती पासवान, मेहिलाल चौधरी, नापी कार्यालय बाराका प्रमुख चन्दन दास, वडा अध्यक्ष वाग्ले र वडा सहजीकरण समितिका पदाधिकारीलगायतको उपस्थिति रहेको थियो ।

यसैबीच भूमि आयोग बाराका अध्यक्ष छबिलाल उप्रेतीले जीतपुरसिमरा उपमहानगरपालिकाको वडा नम्बर १, २, १५, १८ मा रहेको ऐलानी जमिनको चाढै नै धनीपुर्जा वितरण गरिने बताउनुभएको छ । आगामी दिनमा निजगढ र कोल्हबी नगरपालिकामा पनि काम सुचारु गर्न आयोगबाट कर्मचारी खटाइएको उहाँले जानकारी दिनुभएको छ । भूमि सम्बन्धि कानुनको जटिलताले गर्दा विगत जस्तो सहज नभएकाले तोकिएको समयमा आयोगले काम गर्न नसकेको उप्रेतीको भनाई छ । जग्गाको नापी, कित्ता काट, नापी प्रमाणित, पुनःप्रमाणीकरण, नगरपालिकाको वडा सहजीकरण समितिलगायतबाट निर्णय गर्नुपर्ने जस्ता झन्झटिलो प्रक्रियाका कारण लालपुर्जा वितरणमा ढिलाई भएको उहाँको भनाई छ । बिभिन्न समस्याका बाबजुद पनि जिल्लाको उत्तरी क्षेत्रका पालिकाहरुमा आयोगले काम गरिरहेको उप्रेतीको भनाई छ ।

Leave a Reply