पुष्पराज खतिवडा
मनहर्वा,माघ १३ गतेबाट तेस्रो मनहर्वा गोल्डकप फुटबल प्रतियोगिता हुने भएको छ । प्रतियोगिताको आयोजक जीतपुरसिमरा उपमहानगरपालिका वडा नम्बर १८ को मौवादेवी युवा क्लबले शनिवार बडहर्वामा पत्रकार सम्मेलनको आयोजना गरी प्रतियोगिता बारे जानकारी गराएको हो ।प्रतियोगितामा आयोजकको १ टिमसहित ८ टिमको सहभागिता रहने भएको छ । माघ २० गतेसम्म चल्ने प्रतियोगितामा नव दुर्गा युवा क्लब सिमरा, हानामी बि.एफ.सि चितवन, रिगल हेटौंडा रिसोर्ट मकवानपुर, बागमती युवा क्लब सर्लाही, रौतहट एफ.सि. रौतहट, नमस्ते युवा क्लब हरिवन, वीरगञ्ज युनाईटेड वीरगञ्ज र आयोजक श्री मौवा देवी युवा क्लब सहभागी हुने भएका छन् । नव दुर्गा युवा क्लब सिमरा दोस्रो मनहर्वा गोल्ड कपको बिजेता समेत हो ।प्रतियोगिताको विजेताले नगद दुई लाख र उपविजेताले एक लाख रुपैंया पुरस्कार पाउने छन् । यस्तै फेयर प्लेको आधारमा सेमिफाईनको दुई टिममध्ये कुनै एक टिमलाई नगद २५ हजारको फेयर प्ले अवार्ड प्रदान गरिने छ ।यसैगरी २० हजारको एकजनालाई सर्वोत्कृष्ट खेलाडी पुरस्कार, प्रतियोगिता भरिकै सर्वाधिक गोलकर्ता (हाई स्कोरर) लाई नगद २० हजार, विधागत पुरस्कार अन्तर्गत उत्कृष्ट गोल रक्षकलाई १५ हजार, डिफेन्स, मिड फिल्डर एकएक जनालाई नगद १० हजारका दरले प्रदान गरिने भएको छ ।त्यसैगरी उत्कृष्ट टिम प्रशिक्षक, टिम म्यानेजरलाई ५÷५ हजार, स्थानीय उदयीमान खेलाडी पुरस्कारबाट एक जनालाई ५ हजार र प्रत्येक दिनको उत्कृष्ट खेलाडी (प्लेयर अफ दि म्याच) नगद २ हजार ५ सय प्रदान गरिने आयोजक क्लबका अध्यक्ष निर्मलकुमार यादवले जानकारी दिनुभयो ।जिल्लाको मध्य स्थानमा रहेको बडहर्वा खेल मैदान दर्शकहरुको उपस्थितिका हिसावले उत्कृष्ठ रंगशाला बन्दै आएको छ । यहाँ दैनिक हजारौं दर्शक स्वस्फूर्त रुपमा खेल हेर्न आउनेगरेका छन् ।एक हजारजना दर्शक अटाउन सक्ने प्याराफिट समेत रहेको बडहर्वा खेलमैदानमा यस अघि २०६९ मा पहिलो र २०७१ मा दोस्रो मनहर्वा गोल्डकप सम्पन्न भएको थिए । पहिलो प्रतियोगिताको उपाधी एपिएफ पिलुवा र दोस्रो नव दुर्गा युवा क्लब सिमराले जितेको थियो । यस्तै पहिलो प्रतियोगितामा नव दुर्गा युवा क्लब सिमरा र दोस्रोमा एपिएफ पिलुवा उपविजेता बनेका थिए ।पहिलो प्रतियोगिताको पुरस्कार राशी २५ र १५ हजार रुपैयाँ थियो भने दोस्रोमा १ लाख १ रुपैंया र ५१ हजार १ रुपैंया थियो । दोस्रो प्रतियोगिता सम्पन्न भएको ९ वर्षपछि तेस्रो मनहर्वा गोल्डकपको आयोजना गर्न लागिएको हो ।जीतपुरसिमरा उपमहानगरपालिका वडा नम्बर १८ का अध्यक्ष चतुरबाबु वाग्लेको प्रमुख आतिथ्यतामा भएको पत्रकार सम्मेलनमा क्लबका अध्यक्ष निर्मलकुमार यादव, क्लबका पूर्वअध्यक्ष बसन्त खतिवडा, खेलकुद पत्रकार मंच बाराका अध्यक्ष सुनिल गाउँले, सल्लाहकार समितिका सदस्यहरु एवं पधादिकारीहरुको सहभागिता रहेको थियो ।प्रतियोगिताका मिडिया संयोजक पुष्पराज खतिवडाले कार्यक्रमको संचालनमा गर्नुभएको हो ।



















