राजन कुमार बानिया
पोखरिया,पर्साको छिपहरमाई गाउँपालिकामा गाउँपालिका स्तरीय मेयर कप टि २० क्रिकेट प्रतियोगिता मंगलबारदेखि सुरु भएको छ । छिपहरमाई गाउँपालिकाको सहयोग र युवा समाज भिस्वा क्रिकेट क्लबको आयोजनामा मेयर कप टि– २० क्रिकेट प्रतियोगिता सुरु भएको हो । गाउँपालिकाका अध्यक्ष मनोज कुमार गुप्ताले ब्याटिङ गर्दै प्रतियोगिताको उद्घाटन गर्नु भएको हो ।
प्रमुख अतिथि रहनु भएका अध्यक्ष गुप्ताले उद्घाटन गर्दै खेलकुदका लागि मात्र नभई युवाहरु देश चलाउन पनि आवश्यक रहेको बताउनुभयो । उहाँले खेलकुदका माध्यमबाट शारीरिक र मस्तिष्क विकासका साथै गाउँपालिकाको नाम देश विदेशमा चिनिने भएकाले खेललाई प्राथमिकता राखिएको बताउनुभयो । खेलकुद कार्यक्रमलाई आगमी दिनमा पूर्णरुपले सहयोग गरिने उहाँले प्रतिबद्धता जाहेर गर्नुभयो । प्रतियोगिता वडा नम्बर ५ भिस्वाको खेल मैदानमा आयोजना भइरहेको छ । प्रतियोगितको पहिलो दिन आयोजक क्रिकेट क्लब भिस्वा र पकहामैनपुर गाउँपालिकाको सबैठवा बीचको खेल बर्षाका कारण स्थगित भएको छ । भिस्वाले टस जितेर ब्याटिङ गरेको थियो । तर २ ओभरमा ११ रन बनेपछि पानी परेपछि खेल स्थगित गरिएको आयोजक कमिटीका मनोज पटेलले जानकारी दिनुभयो ।मंगलबार रोकिएको खेल बुधबार आयोजना गरिने आयोजकले जानकारी दिएको छ ।
उद्घाटन कार्यक्रम वडा नम्बर ५ भिस्वाका अध्यक्ष मौजीलाल साह कानुको अध्यक्षतामा भएको कार्यक्रममा उपाध्यक्ष लिलावती देबी कानु, प्रमुख प्रशासकीय अधिकृत अशोक रौनियार, सशस्त्र प्रहरी बल लहावरथकरीका डिएसपी प्रेमबहादुर कठायत, वडा अध्यक्ष कामेश्वर यादव, महेन्द्र साह कलवार, दिपेन्द्र सिंह, कार्यपालिका सदस्य, महिला, सदस्य, शिक्षक, स्थानीय दर्शकहरुको उपस्थित थियो ।यस प्रतियोगितामा ८ वटा टिमको सहभागिता रहेको आयोजकले जानकारी दिएका छन् । बुधवार छिपहरमाई गाउँपालिका र वीरगञ्ज १६ बीच खेल हुनेछ ।


















