निजगढ,प्रतिनिधि सभाअन्तर्गतको विकास तथा प्रविधि समितिले काठमाण्डौं–तराई द्रुतमार्ग (फास्टट्याक) को काम निर्धारित समयमा सम्पन्न गर्ने गरी कार्ययोजना बनाउन सरकारलाई निर्देशन दिएको छ ।
सोमवार बसेको समितिको बैठकले द्रुतमार्ग आयोजनाको हालसम्मको अवस्था हेर्दा निर्धारित समयमा काम सम्पन्न हुन नसक्ने निष्कर्ष निकालेको छ । समितिले पूर्वनिर्धारित कार्यतालिका बमोजिम ठेक्का व्यवस्थापनका कामहरु हालसम्म हुन नसकेको भन्दै निर्धारित समयमा सम्पन्न गर्नका लागि ठोस् कार्य योजना बनाइ कार्यान्वयनमा ल्याउन सरकारलाई निर्देशन दिएको हो । समितिले आयोजनाको लागत बढ्न नदिन तथा गुणस्तरीय काम गर्नपर्नेमा पनि जोड दिएको छ ।
बैठकको निर्णय बारे जानकारी दिँदै समिति सभापति कल्याणीकुमारी खड्काले आउँदो २०८१ साल मंसिर महिनासम्म सम्पन्न हुने भनिएको बहुप्रतिक्षित एशियन हाइवे मापदण्डको राष्ट्रिय गौरवको आयोजना काठमाण्डौं–तराई÷मधेश द्रुतमार्गको आर्थिक वर्ष २०७८,०७९ सम्ममा भएको २१.१८ प्रतिशतको समष्टिगत प्रगति र आयोजनाको पूर्वनिर्धारित कार्यतालिका बमोजिम ठेक्का व्यवस्थापनका कार्यहरु हाल सम्म हुँन नसकेको अवस्थालाई हेर्दा आयोजना निर्धारित समयमा सम्पन्न हुँने विषयमा समिति विश्वस्त हुँने अवस्था नदेखिएको बताउनुभयो ।
त्यस्तै बैठकले द्रुतमार्ग आयोजनाको काम सञ्चालन गर्दा वातावरणीय पक्षहरु इ.आइ.ए र इ.एम.पीको कार्यान्वयनको अवस्था कस्तो छ र तेस्रो पक्षबाट अनुगमन भए÷नभएको सम्बन्धमा १५ दिनभित्रमा समितिलाई स्पष्ट जानकारी दिनका लागि पनि निर्देशन दिएको छ ।