सिमरा,सूर्य नेपाल प्रा.लि. सिमराले जीतपुरसिमरा उपमहानगरपालिका वडा नम्बर २ स्थित नेपाल राष्ट्रिय माध्यमिक विद्यालयलाई चार थान स्मार्ट डिजिटल बोर्ड हस्तान्तरण गरेको छ ।संस्थाको सामाजिक उत्तरदायित्व कार्यक्रम अन्तर्गत शैक्षिक क्षेत्रमा लगानी गर्दै आइरहेको सूर्य नेपालले विद्यालयलाई चारवटा स्मार्ट डिजिटल बोर्ड हस्तान्तरण गरेको हो ।
विद्यालयले आयोजना गरेको एक कार्यक्रममा जीतपुरसिमरा उपमहानगरपालिकाका उपप्रमुख भोलाप्रसाद अधिकारी र सूर्य नेपालका यज्ञबहादुर आलेले संयुक्त रूपमा स्मार्ट डिजिटल बोर्डको उद्घाटन गरेका थिए ।

नगर उपप्रमुख अधिकारीले सूर्य नेपालले शिक्षा र समाजका लागि गरेको योगदानबारे प्रशंसा गर्दै स्थानीय सरकारले पनि प्रविधिमैत्री शिक्षालाई जोड दिँदै गुणस्तरीय शिक्षाका लागि काम गरिरहेको बताउनुभयो ।यसैगरी सुर्य नेपाल प्रालिका सुरक्षा प्रबन्धक आलेले वर्तमान युग प्रविधिमैत्री बन्दै गइरहेको उल्लेख गर्दै विद्यार्थीहरूलाई पनि प्रविधिमा दक्ष र स्मार्ट बनाउने उद्देश्यले विद्यालयलाई डिजिटल बोर्ड प्रदान गरिएको जानकारी दिनुभयो ।

विद्यालय व्यवस्थापन समितिका अध्यक्ष कृष्णकुमार अधिकारीको अध्यक्षतामा सम्पन्न कार्यक्रममा सूर्य नेपालका आशिस अधिकारी, वडा नम्बर २ का वडा अध्यक्ष धनबहादुर श्रेष्ठ, विद्यालयमा शिक्षक अभिभावक संघका अध्यक्ष विनोद मण्डल, प्रधानाध्यापक शकरकुमार आचार्य, सहायक प्रधानाध्यापक अच्युतदेव सिटौला, उमेश चौधरी, विद्यालय व्यवस्थापन समितिका सदस्य लिला रिजाल, फूलमाया थिङ्ग, रोशन ठाकुर, रामकिशोर झा सीताराम पराजुली मनोजकुमार पोख्रेललगायत विद्यालयका शिक्षक र विद्यार्थीहरूको उपस्थिति रहेको थियो ।

Leave a Reply