निजगढ,बारा क्षेत्र नम्बर १ बाट प्रतिनिधि सभा सदस्यमा निर्वाचित गणेश धिमालले भोलिदेखि क्षेत्रका विभिन्न पालिकाहरुमा आयोजना गरिएको ‘धन्यवादसभा’ स्थगित गर्नुभएको छ ।सांसद धिमालले आज साँझ फेसबुकमा स्टाटस लेखेर क्षेत्रका विभिन्न स्थानमा एक हप्तासम्मको लागि निर्धारण गरिएको ‘धन्यवादसभा’ आकस्मिक रुपमा स्थगित गरिएको जानकारी दिनुभएको छ ।
स्टाटसमा उहाँले कार्यक्रम स्थगित गर्नुपर्ने कारण भने उल्लेख गर्नुभएको छैन । ‘बारा क्षेत्र न १ को विभिन्न पालिकामा आयोजना गरिएको कार्यक्रम आकस्मिक रुपमा स्थगित भएको व्यहोरा जानकारी गराउदै, यसबाट पर्न गएको असुविधाप्रति क्षमाप्रार्थी छु ।’ उहाँले फेसबुकमा लेख्नुभएको छ ।
रास्वपाका कार्यकर्ताहरुले यसअघि आज दिउसो फेसबुकमै स्टाटस लेखेर निजगगढ नगरपालिकाका विभिन्न वडाहरुमा गरिने सांसद धिमालको ‘धन्यवादसभा’मा सहभागी हुन मतदाताहरुसंग आग्रह गरेका थिए ।
भोलि बिहान ७ः३० बजे निजगढ १ सिंगौलको गोरु बजारबाट शुरु हुने भनिएको सो सभा सोही दिन साँझ ४ः३० बजे निजगढ ८ को खयरघारीमा समापन गरिने जनाइएको थियो । पार्टीको आन्तरिक कार्यक्रममा सहभागी हुनुपर्ने भएकोले मतदाताहरुसंगको भेटघाट र विभिन्न संघसंसथाले आयोजना गरेको स्वागत तथा शुभकामनालगायत सबै कार्यक्रम स्थगित गर्नुपरेको सांसद धिमालले जानकारी दिनुभएको छ ।उहाँले केही दिनभित्रै कार्यक्रम संचालन गरिने पनि बताउनुभएको छ । निर्वाचन परिणाम घोषणापछि सांसद धिमाल हिजो सिम्रौनगढ नगरपालिका र आज आदर्शकोतवाल तथा बारागढी गाउँपालिकामा भएको ‘धन्यवाद’ सभामा सरिक हुनुभएको छ ।


















