निजगढ,स्तरोन्नतिको चरणमा रहेको पूर्वपश्चिम लोकमार्गको कमला–पथलैया खण्डको १३० किमी सडक दायाँबायाँका रुख व्यवस्थापनका लागि सडक विभागले स्वीकृति पाएको छ ।वन तथा भू संरक्षण विभागले असार २३ गते स्वीकृत परिमार्जित वातावरणीय व्यवस्थापन योजना बमोजिम ३१ हजार ५२९ वटा रुख हटाउन धनुषाको गौरीडाँडास्थित कमला–ढल्केवर–पथलैया सडक आयोजनामा पत्राचार गरेको छ ।

पूर्वी खण्डका आयोजना प्रमुख छविलाल पौडेलका अनुसार रुख व्यवस्थापन हुन नसक्दा सडक स्तरोन्नतिको कामले अपेक्षित गति लिन सकेको छैन । यसका लागि आयोजनाले २ वर्षअघिदेखि प्रयास गर्दै आएको थियो । २०८१ सालमै वातावरणीय अध्ययन प्रतिवेदनस्वीकृति भए पनि कटान आदेश भने हालैमात्र आएको हो ।विश्व बैङ्कको १८ अर्ब ६० करोड ऋण सहयोगमा पूर्वी खण्डको सन २०२५ जनवरी १ तारिखदेखि कमला पुल पश्चिम, धनुषा जिल्लाको बडहरी र सर्लाहीको फूलजोर गरी ३ ठाउँबाट एकै साथ स्तरोन्नतिको काम अघि बढाइएको छ ।

अहिले २ लेनको पूर्वपश्चिम राजमार्गलाई एसियाली मापदण्ड अनुसार सहरी तथा बजार क्षेत्रमा ६ लेनसहित ३१ मिटर फराकिलो पार्ने र त्यसबाहेकका ठाउँमा ‘मेडियन’ सहित १८ मिटर चौडाइको ४ लेनमा स्तारोन्नतीको कामका लागि ठेक्का सम्झौता भएको हो । आगामी सन २०२७ सम्म निर्माण सम्पन्न भइसक्नुपर्ने यस आयोजनाको ६ महिना बितिसकेको छ ।
रुख कटान सम्बन्धि समस्याले गर्दा ठेकेदार कम्पनीहरूले सडक स्तरोन्नतिलाई थाती राख्दै नयाँ पुल निर्माण गर्दैआएका छन । कमला–बागमती पूर्वी खण्डमा ३४ पुल र १०० वटा कल्भर्ट निर्माण गर्नुपर्नेमा १५ पुल र १७ वटा कल्भर्टमा मात्र काम गर्न सकिएको छ ।मधेस प्रदेशका वन निर्देशक जगन्नाथप्रसाद जयसवालले कटान अघि रुखहरूमा टाँचा हान्ने लगायतका प्रक्रिया बाँकी रहेकाले थप केही समय लाग्ने बताउनुभयो ।

Leave a Reply