निजगढ,बागदेव दुग्ध उत्पादक सहकारी संस्था निजगढको संचालक समितिको उपाध्यक्षका पदका उम्मेदवार गोविन्दप्रसाद घिमिरेले उम्मेदवारी फिर्ता लिएको घोषणा गर्नुभएको छ ।नयाँ संचालक समिति सर्वसम्मत रुपमा चयन गर्न सहज होस भन्ने उद्देश्यले उम्मेदवारी फिर्ता लिएको घिमिरेले जनाउनुभएको छ । उम्मेदवारी फिर्ता लिइसकेको अवस्थामा पनि निर्वाचन समतिले आफूलाई चुनाव चिन्ह प्रदान गरकोमा भने घिमिरेले तीव्र असन्तुष्टि पनि जनाउनुभएको छ ।‘निर्वाचन समितिलाई लिखित जानकारी गराइसकेपछि पनि मेरो उम्मेदवारी कायम रहेको भन्दै चुनाव चिन्हसमेत प्रदान गरिएको छ, घिमिरेले जारी गुर्नभएको विज्ञप्तिमा भनिएको छ, म निर्वाचन प्रक्रियाबाट बाहिरिसकेको छु, मलाई दिएको भनिएको चिन्हमा सदस्यहरु कसैले पनि मतदान नगर्नुहोला ।’घिमिरे संचालक समितिको पूर्व सदस्य समेत हुनुहुन्छ ।यसैबीच निर्वाचन अधिकृत अजयकुमार उप्रेतीले उपाध्यक्ष पदका उम्मेदवारहरुलाई शनिवार निर्वाचन चिन्ह प्रदान गरिएको जानकारी दिनुभएको छ । उप्रेतीका अनुसार उपाध्यक्ष पदका उम्मेदवार उदयराज पाण्डेलाई लालटिन, टुकबहादुर तिमल्सिनालाई मयुर र गोविन्द घिमिरेलाई गिलास चिन्ह प्रदान गरिएको छ ।अधिकृत उप्रेतीले निर्वाचन समितिले सार्वजनिक गरेको कार्यतालिका विपरित समय घर्किसकेपछि मनोनयन पत्र फिर्ता गर्न आवेदन दिएकोले घिमिरेको उम्मेदवारी कायम नै रहेको र उहाँलाई चुनाव चिन्हसमेत प्रदान गरिएको बताउनुभएको छ । ‘उम्मेदवारी फिर्ता लिने समय नाघेपछि निवेदन आयो, उहाँले भन्नुभयो, कानुनी रुपमा घिमिरेको उम्मेदवारी कायम रहेकोले चुनाव चिन्ह दिएका हौ ।’घिमिरेले निर्वाचनबाट बाहिरिएको घोषणा गरेपछि उपाध्यक्ष पदको लागि अब पाण्डे र तिमल्सिनाबीच प्रतिस्पर्धा हुने भएको छ । बागदेव दुध सहकारीमा उपाध्यक्ष पदको लागि मात्रै मतदान हुन लागेको हो ।संचालक समितिको अध्यक्षलगायत अन्य सबै पद र लेखा समितिमा समेत एक÷एक जनाको मात्रै उम्मेदवारी परेपछि बिहीवार निर्वाचन समितिले संस्थाको अध्यक्षमा थानेश्वर सापकोटा अविरलसहित अन्यलाई निर्विरोध निर्वाचित भएको जानकारी गराएको थियो ।उपाध्यक्ष पदको लागि आगामी पुष २७ गते मतदान हुने भएको छ । मतदानको लागि निजगढ नगरपालिकाका १३ वटै वडा २ हजार २ सयभन्दा बढी मतदाता रहेका छन ।निजगढस्थित नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र र नेकपा एसले मनोनयन पत्र दर्ता नै नगरी सहकारी संस्थाको निर्वाचन बहिष्कार गर्ने घोषणा गरेको थियो ।



















