निजगढ,निजगढ नगरपालिकाले केरा खेती गर्ने निजगढका २ सय किसानहरुलाई सोमवार ५० प्रतिशत अनुदानमा मोटरेवल स्प्रे ट्याङ्की वितरण गरेको छ ।नगरपालिकाले ३ हजार ६ रुपैया मूल्य पर्ने सो स्प्रे ट्याङ्कीको कृषकहरुसंग १ हजार ८ सयरुपैया मात्रै लिएर अनुदानमा वितरण गरेको हो । नगरपालिकाले आर्थिक वर्ष २०८१-०८२ को बार्षिक कार्यक्रम अनुसार केरा खेती प्रबद्र्धन गर्न किसानहरुलाई स्प्रे ट्याङ्की वितरण गरेको हो ।नगरपालिकाको कृषि शाखाले यसअघि केरा खेतीको बिमा गरेका र अनुदानमा ट्याङ्की लिन चाहने तथा कार्यालयमा निवेदन पेस गरेका कृषकहरुलाई स्प्रेयर ट्याङ्की वितरण गर्ने सूचना गरेको थियो । कार्यालयले बिमा लेखको सक्कल वा प्रतिलिपिसहित आएका किसानलाई अनुदानको स्प्रेयर ट्याङ्की वितरण गरेको हो ।
निजगढ नगरपालिका कार्यालयमा भएको ट्याङ्की वितरण कार्यक्रममा बोल्दै नगर उपप्रमुख सोममाया थिङले केरा खेतीमा जैविक विषादी प्रयोग गर्नकिसानहरूसंग आग्रह गर्नुभएको थियो । उहाँले जैविक विषाधिको प्रयोग गरेर उत्पादन गरेको केराको प्रयोगले मानव स्वास्थ्य र वातावरणलाई पनि स्वच्छ राख्ने भएकोले विषादीको प्रयोग नगर्न सुझाव दिनुभएको हो । नगरपालिकाले कृषि क्षेत्रको विकासलाई प्राथमिकतामा राखेर काम गर्दैआएको बताउदै उहाँले आगामी दिनमा पनि किसानहरुको हितलाई सर्वोपरी मानेर कार्यक्रम संचालन गर्ने पनि बताउनुभयो ।
कार्यक्रममा बोल्दै कृषि शाखा प्रमुख रितेश चौधरीले मोटर वाला स्प्रे ट्याङ्की वितरणले केरा खेती गर्ने कृषकलाई थप सहज हुने बताउनुभयो । कार्यक्रममा कृषि प्राविधिक गङ्गा दुलाल, कृषि प्राविधिक रूपा पराजुलीले लगायतको सहभागिता रहेको थियो ।



















