निजगढ,काँटघाटस्थित महादेव मन्दिरमा जल चढाउन जाने बोलबम तीर्थयात्रीको लागि निजगढको सप्तऋषि धर्मशाला विश्रामस्थलको रुपमा विकासित भएको छ ।बाराको चारकोसे झाडीको काँटघाटस्थित सहजनाथ महादेव मन्दिरमा पैदल र सवारी साधानबाट जल चढाउनने तीर्थयात्रीहरुको लागि निजगढ ८ बकैया नदीको पूर्वी किनारमा रहेको यो धर्मशाला पछिल्लो समय विश्राम र आश्रयस्थलको रुपमा स्थापित हुदैआएको हो ।बागमती नदीको जल बोकेर बाराको कोल्हबी नगरपालिकास्थित चारकोसे झाडीको जंगलमा रहेको सहजनाथ महादेव मन्दिरमा चढाउन जाने क्रममा अधिकांशले धर्मशालामा विश्राम गर्ने र कतिपयले रात पनि बिताउने गरेका छन ।
तीर्थयात्रीहरुको सुविधालाई ध्यानमा राखेर धर्मशाला व्यवस्थापन समितिले खानेपानी, शौचालय र बस्ने व्यवस्था मिलाएपछि धर्मशाला विश्रामस्थलको रुपमा स्थापित भएको समितिका अध्यक्ष गणेश राजभण्डारीले बताउनुभयो ।धर्मशालाले शौचालय, बाथ रुमको व्यवस्थासंगै पूजा गर्न, बाँस बस्न र विश्राम गर्न गर्न चहिने न्यूनतम सुविधा उपलब्ध गराएको छ ।हरेक वर्ष साउन महीनाको आइतवार र सोमवार रौतहट र सर्लाही जिल्लाको सीमानामा पर्ने बागमती नदीको जल बोकेर आउनेहरुले सप्तऋषि धर्मशालालाई आश्रयस्थलको रुपमा प्रयोग गर्ने गरेका हुन ।‘शनीवारदेखि नै घुइँचो लाग्छ, धर्मशाला नजिकै चिया नास्ताको पसल चलाएर बस्नुभएका जनक थापा मगरले भन्नुभयो, प्रतेक हप्ताका ३ दिन २ हजारभन्दा बढीले बास बस्ने गरेका छन । उहाँका अनुसार दिउसो र बिहान विश्राममात्रै गर्नेको संख्या निक्कै ठूलो छ ।
मनोरम दृश्य र पायक पर्ने स्थानमा भएकोले पनि धर्मशालामा यात्रीहरुको आकर्षण बढेको बाराको करैयामाई गाउँपालिका तेतरियाका बोलबम गोपाल दास थारुले बताउनुभयो ।‘जल चढाउने मन्दिरबाट धर्मशालाबाट पनि नजिकै पर्छ, थारुले भन्नुभयो, अघिल्लो दिन बागमतीको जल बोकेर पैदल आउने तीर्थयात्रीहरु यही बास बसेर भोलिपल्ट सबेरै बकैया खोलमा नुहाएर काँटघाटमा जल चढाउँछन ।’ उहाँले बकैया नदीको किनारामा मनोरम दृश्य र अन्य सुविधा पनि भएकोले धर्मशालामा श्रद्धालुहरु बस्ने गरेको बताउनुभयो ।
धर्मशालाबाट बागमती नदी राजमार्गबाट करिव २८ किमी टाढा पूर्वमा पर्छ भने काँटघाट महादेव मन्दिर करिव ८ किमी पश्चिमबाट ३ किमी दक्षिणतर्फ घना जंगलमा छ ।काँटघाटमा हरेक वर्ष साउन महीनाको सोमवार बारा, पर्सा, रौतहट र सर्लाही जिल्लाका विभिन्न पालिकाबाट आएका भक्तजनहरुले जल चढाउने गरेका हुन ।यसैबीच मधेस युवा मञ्च निजगढले आइतवारसप्तऋषि धर्मशालामा विश्राम गरेका बोलबमका भक्तजनहरूलाई मिनिरल वाटर र फ्रुटी वितरण गरिएको छ ।
सहजनाथ महादेव मन्दिरमा जल चढाउने क्रममा धर्मशालामा विश्राम गर्न बसेका बोलबम यात्रुहरुको सुविधाको लागि मञ्चले शुद्ध पिउने पानी र फ्रुटी वितरण गरेको हो ।
सो अवसरमा मञ्चका स्वंमसेवकहरुले डेढ सयभन्दा बढी भक्तजनहरुलाई पानी र फ्रुटी उपलब्ध गराइएको मञ्चका अध्यक्ष प्रशान्त रौनियारले जानकारी दिनुभयो । उहाँले समुदायप्रतिको उत्तरदायित्व निर्वाह गर्नेक्रममा तीर्थयात्रीहरुलाई पानी र फ्रुटी वितरण गरिएको बताउनुभयो ।सो अवसरमा मञ्चका अन्य सदस्य र छठ पूजा समिति निजगढका अध्यक्ष सुनिल महतोसहितकोसक्रिय सहभागिता रहेको थियो । कार्यक्रममा वडा नम्बर ८ का वडा अध्यक्ष स्वर्ण लामालगायत स्थानीय भद्रभलादमीहरुको पनि उपस्थिति रहेको थियो ।


















