हालै नागरिक उन्मुक्ति पार्टीकी अध्यक्ष एवं भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री रञ्जिता श्रेष्ठले पदले दुरुपयोग गर्दै कारागारभित्रै पार्टीको बैठक गर्नुभएको छ ।मन्त्रीको झन्डावाला गाडीसहित डिल्लीबजार कारागारमा पार्टीको बैठक बसेपछि उहाँको पदीय मर्यादा र आचरणमाथि प्रश्न उठेको छ । कैद जीवन भोगिरहेका श्रीमान् रेशम चौधरीलाई साक्षी राखेर पार्टीको बैठक बसिरहँदा कारागार सुरक्षार्थ खटिएका प्रहरी र जेलर मुकदर्शक बनेका छन् ।सो पार्टीले जेलभित्रै बैठक बसेर राजधानीमा पत्रकार सम्मेलन गरी आन्दोलनको कार्यक्रम घोषणा गरेको थियो । चुनावताका पटक–पटक कारागारमा बैठक बस्ने, भेला गर्ने अनि त्यहीँबाट उम्मेदवार तोक्ने काम नभएका होइनन् । अन्य कैदीसरह जेलजीवन बिताउनुपर्ने पूर्वसांसद चौधरीलाई सरकारले निवासमा बसेका भीआईपीलाई जस्तो सुविधा दिएको छ ।अन्य सर्वसाधारणले कैद जीवन भोगिरहेका आफन्तलाई भेट गर्दा कडा सुरक्षा चेकजाँच गर्नुपर्ने व्यवस्था छ । तर पूर्वसांसद चौधरीले खुलेयाम पार्टीको भेला, राजनीतिक भेटघाट गर्दासमेत सुरक्षा निकाय रमिते भएर बसेको छ । यसरी पदको दुरुपयोग गर्नु कानुनी राज्यका लागि भने उपहासको कुरा हो ।

Leave a Reply