सिमरा,जीतपुरसिमरा उपमहानगरपालिकाले जीतपुर बजार क्षेत्रमा निर्माण गरिएको ६ लेन सडकमा अवरोध गरेर केही व्यवसायीहरुले संचालन गर्दैआएको व्यापारिक गतिविधि तत्काल रोक्न आग्रह गरेको छ ।नगर कार्यपालिकाको कार्यालयले एक सूचना जारी गर्दै सडक अतिक्रमणका कारण दैनिक आवतजावतमा गम्भीर असर परेको भन्दै अनाधिकृत रूपमा सडक क्षेत्रमा संचालन गरिएको पसल र अन्य कारोबार बन्द गर्न सम्बन्धित व्यवसायी र व्यक्तिहरुसंग आग्रह गरेको हो । ‘जीतपुर क्षेत्रमा ६ लेन सडक छेकेर भइरहेको सम्पूर्ण व्यापारिक गतिविधि स्वेच्छाले हटाएर सहयोग गर्न आग्रह गरिन्छ ।’ नगरपालिकाको सूचनामा भनिएको छ ।

उपमहानगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत शान्तिराज प्रसाईद्धारा जारी सुचनामा ६ लेन सडक क्षेत्रमा फुटपाथ तथा सडक ओगटेर पसल, टहरा, निर्माण सामग्री राखी व्यापार सञ्चालन गर्दा सवारीसाधन र पैदल यात्रु दुवैका लागि जोखिम बढेको जनाइएको छ । यसले ट्राफिक व्यवस्थापनमा समस्या सिर्जना गर्नुका साथै सडक दुर्घटनाको सम्भावना पनि उच्च बनाएको सूचनामा उल्लेख छ । सूचनामा जथाभाबी रुपमा नालामा ढलान गरी बन्द गरिएको तथा सड्क र फुटपाथ ओगटेर पसल ,टहरा ,पार्किङ्ग ,निर्माण सामग्री थुपार्ने कार्य भईरहदा वर्षायाममा नाला अवरुद्ध भई पानी निकास नहुने, सडकमा पानी जम्ने र सडक संरचनामा क्षति पुग्ने समस्या समेत देखिएको जनाइएको छ ।
‘विशेषगरी विद्यालय जाने बालबालिका, वृद्धवृद्धा, अपांगता भएका व्यक्ति तथा पैदल यात्रुहरूको सुरक्षित आवतजावतमा गम्भीर चुनौती उत्पन्न भएको छ ।’ उपमहानगरपालिकाले जारी गरेको सूचनामा जनाएको छ ।
उपमहानगरपालिकाले यसअघि पनि विभिन्न निकायसँग समन्वय गरी सडक अतिक्रमण हटाउने प्रयास गर्दै आएको भएपनि अनाधिकृत रूपमा सडकमै व्यापार सञ्चालन गर्ने प्रवृत्ति अझै कायमै रहेको बताएको छ ।

सडक अतिक्रमण नियन्त्रण तथा हटाउने कार्यलाई प्रभावकारी बनाउन जिल्ला प्रशासन कार्यालय बारा, इलाका प्रहरी कार्यालय सिमरा तथा जिल्ला ट्राफिक कार्यालय बारासँग समन्वय गरिएको जनाउँदै उपमहानगरपालिकाले सबै सरोकारवाला पक्षलाई नियमको पालना गर्न अनुरोध पनि गरेको छ ।

Leave a Reply