निजगढ,निजगढ नगरपालिकाले निजगढ नगरपालिका वडा नम्बर २ सिगौलमा लाग्दै आएको गुम्बा मेलालाई असहयोग गरेको आरोप वडा अध्यक्ष जितबहादुर लामाले लगाउनुभएको छ ।
वडा अध्यक्ष लामाले वडामा रहेको टाँसीधार्गेलिङ्ग गुम्बा मेलालाई आर्थिक सहयोग नदिएर नगर प्रमुख सुरेश खनालले असहयोग र भेदभाव गरेको आरोप लगाउनु भएको हो । नगरपालिकाले निजगढ नगरपालिका वडा नम्बर ९ नदीकट्टास्थित वाक्यश्वर महादेव मन्दिरमा लागेको रात्रि मेलालाई आर्थिक सहयोग गरेको तर आफ्नो वडामा लागेको मेलामा सहयोग नगरेर भेदभाव गरिएको वडा अध्यक्ष लामाको भनाइ छ ।
निजगढ नगरपालिकाको शुक्रबार बसेको बोर्ड बैठकमा लामाले आर्थिक सहयोगको माग गरेपछि नगर प्रमुख खनाल र केही वडा अध्यक्षहरुले विरोध गरेको उहाँले जानकारी दिनुभयो । कार्यपालिका बैठकमा आर्थिक सहयोग प्रस्ताव अस्विकृत भएपछि अध्यक्ष लामासहित सोही वडाबाट कार्यपालिकाकी अर्की सदस्य राधिका पुलामीले पनि बैठक बहिष्कार गर्नुभएको थियो ।
यसअघि बसेको नगर कार्यपालिकाको बैठकले गत महिना निजगढ नगरपालिका वडा नम्बर ९ नदीकट्टामा लागेको वाक्यश्वर मन्दिरको रात्रि मेलालाई भने ५० हजार नगद सहयोग गर्ने निर्णय गरेको थियो । नगरपालिकाभित्र लागेको एउटा मेलालाई आर्थिक सहयोग दिने र अर्कोलाई नदिने निर्णय भेदभाव र पक्षपातपूर्ण भएको अध्यक्ष लामाको भनाइ छ ।
गत मंसिर ४ गतेबाट ५ दिनसम्म लागेको सिगौल मेला संचालनको क्रममा घाटा भएको भन्दै मेला संचालक समितिले नगरपालिकासंग आर्थिक सहयोग माग गरेको थियो ।