जनकपुरधाम,मधेश प्रदेश सरकारका मुख्यमन्त्री सरोजकुमार यादवले नेपाल प्रहरीले प्रदेश सरकारसँग समन्वय नगरेको गुनासो गर्नुभएको छ । उहाँले प्रदेशमा शान्ति सुरक्ष कायम राख्ने सवालमा प्रहरीले मनपरी काम गरिरहेको आरोप लगाउनुभयो ।नेपाल प्रहरी प्रधान कार्यालयले जनकपुरमा आयोजना गरेको सडक सुरक्षा सम्बन्धि प्रस्तुति कार्यक्रममा मुख्यमन्त्री यादवले यस्तो गुनासो गर्नुभएको हो । उहाँले प्रदेशमा शान्ति सुरक्षा कायम सरकार गम्भीर रहेपनि नेपाल प्रहरीले एकलौटी र मनोमानी ढंगले कार्य गर्दा आफूहरुले सोचेबमोजिमको उपलब्धि हासिल नभएको पनि बताउनुभयो ।
सडक दुर्घटना न्यूनीकरणका लागि प्रदेश सरकार आवश्यक कदम चाल्न तयार रहेको जनाउँदै मुख्यमन्त्री यादवले सडक सुरक्षाका लागि चाहिने आवश्यक उपकरण माग गर्न सम्बन्धित निकायलाई निर्देशन समेत दिनुभयो ।
मधेसका जिल्लाहरुमा यातायात कार्यालयको अभावमा सेवाग्राहीमा परेको समस्यालाई मध्यनजर गर्दै प्रत्येक जिल्लामा यातायात कार्यालय स्थापना गरेको मुख्यमन्त्री यादवको भनाई थियो ।कार्यक्रममा प्रदेश सरकारका भौतिक पूर्वाधारमन्त्री कृष्णा यादव, अर्थमन्त्री सञ्जय यादव, स्वास्थ्य तथा जनसङख्या मन्त्री विरेन्द्रप्रसाद सिंह, मधेश प्रहरीका प्रहरी प्रमुख डिआईजी यज्ञबिनोद पोखरेल लगायतको सहभागिता रहेको थियो ।कार्यक्रममा विश्व स्वास्थ्य संगठनले प्रदेश ट्राफिक प्रहरीलाई ३० थान ब्रेथलाइजर हस्तान्तरण समेत गरेको थियो ।


















