वीरगञ्ज,पर्साको पर्सागढी मन्दिर व्यवस्थापन समितिले यो वर्ष पनि विजय उत्सव महोत्सव मनाउने निर्णय गरेको छ ।
विक्रम सम्बत् १८७१ पौष १९ गते स्थानीय रंजित चौधरीको कुशल युद्ध नीति तथा स्थानीयवासीहरुको सक्रियतामा आधुनिक हतियारले सुसज्जित ब्रिटिश भारतको सेनालाई पराजित गरेर गोर्खाली सेनाले ऐतिहासिक विजय हासिल गरेको दिनको सम्झानामा विजय महोत्सवको आयोजना गरिने व्यवस्थापन समितिका अध्यक्ष वृजमोहन चौधरीले मंगलवार आयोजित पत्रकार सम्मेलनमा जानकारी गराउनुभएको छ ।पर्सागढी नगरपालिकाको आर्थिक सहयोग, नेपाली सेनाको सहभागीता तथा स्थानीयवासीहरुको सहभागीतामा पर्सागढी मन्दिर व्यवस्थापन समितिले २१०औँ विजय महोत्सव आयोजना गर्न लागेको हो ।नेपाली सेनाको एकीकरण मार्ग कार्यक्रमलाई निरन्तरता दिँदै पर्सागढी विजय महोत्सव कार्यक्रम पर्सागढी नगरपालिकाको कार्यालय हरपुरमा पुष १९ गते विहान १० बजे भेला भई विभिन्न झाँकी एव् नेपाली सेनाको टोलिको उपस्थितीमा बाजागाजा सहित हर्षोल्लासका साथ पदयात्रा गर्दै पर्सागढी मन्दिर परिसरमा पुगी विजय महोत्सव कार्यक्रममा परिणत हुने पर्सागढी नगरपालिकाका प्रमुख गाकर्ण पाठकले बताउनुभयो ।पर्सागढी र पर्सागढी मन्दिर पर्साको एक मात्र ऐतिहासिक युद्धस्थल रहेको भएपनि ओझेलमा परेको गुनासो गर्दै मन्दिर व्यवस्थापन समितिका अध्यक्ष चौधरीले मन्दिरको दुवैतर्फ नदी तथा खोला सबैभन्दा ठुलो बाधक रहेको र मन्दिर लगायत आसपासका क्षेत्रलाई पर्यटकीय क्षेत्रको रुपमा विकास गर्न तीनै तहको सरकार लगायत उद्योगी व्यवसायीको पनि ध्यान पुग्न आवश्यक रहेको बताउनुभयो ।पर्सागढी नगरपालिकाका मेयर पाठकले पर्सागढी क्षेत्रको विकासका लागि पालिकाले सक्दो सहयोग गर्ने बताउनुभयो । उहाँले पर्सागढी क्षेत्रको जमिन व्यक्तिको नाममा रहँदा काम गर्न समस्या हुने बताउनुभयो ।त्यस्तै समितिका अध्यक्ष चौधरीले पर्सागढीको त्यो बेलाका युद्धका विषयमा लेखिएका लेख, दस्तावेजहरुमा लेखकले युद्ध सफल बनाउन मुख्य भुमिका खेलेका रञ्जित चौधरीको नाम नै समावेश नगरिएको देख्दा पालिकावासीकै मन खिन्न भएको दुखेसो पोख्नुभयो । लेख रचना वा दस्तावेजीकरण गर्नुपुर्व अध्ययन अनुसन्धान गर्न उहाँले आग्रह पनि गर्नुभयो ।हाल स्थानीय थारु परिवारले गढी परिसरमा मन्दिर तथा गेट निर्माण गरेका छन् । पर्सागढी नगरपालिकाले धर्मशाला निर्माण गरिदिएको छ । युद्धस्थलमा रञ्जित चौधरीको कुल देवता बन्हर बाबाको मन्दिर र विजय स्तम्भ बनाइएको छ । गढी क्षेत्रमा जाँड, रक्सी, सुँगुर र राँगाको मासु प्रतिबन्धित छ ।पर्सागढीको गौरवगाथालाई उजागर गर्दै उक्त क्षेत्रलाई पर्यटकीय आकर्षणको रुपमा विकासका लागि आआफ्नो स्थानबाट पहल गरीदिन मंगलबार पत्रकार सम्मेलनमार्फत आग्रह गरिएको हो ।मन्दिर परिसरमै आयोजित पत्रकार सम्मेलनमा पर्सागढी नगरपालिकाका मेयर गोकर्ण पाठ, मन्दिर व्यवस्थापन समितिका अध्यक्ष एव् पुर्व गाविस अध्यक्ष वृजमोहन चौधरी, स्थानीयवासी तथा विभिन्न संचार माध्यममा आबद्ध पत्रकारहरुको सहभागिता रहेको थियो ।

Leave a Reply