वीरगञ्ज,पर्सा, बारा र रौतहटका पाँच सय मुस्लिम धर्मावलम्बी परिवारलाई रमजान पर्व मनाउनका लागि टर्कीको एक संस्थाको आर्थिक सहयोगमा ह्युमन डेभलोपमेन्ट नेपालले खाद्यान्न सामाग्री वितरण गरेको छ ।

टर्किस कोर्डिनेशन एन्ड कर्पोरेसन एजेन्सी (टिका) को आर्थिक सहयोगमा ह्युमन डेभलोपमेन्ट नेपालले तीन वटै जिल्लाका गरिब, विपन्न र एकल महिलालाई खाद्यान्न सामाग्री वितरण गरेको हो ।पाँच सय परिवारलाई जनही चामल २५ केजी, पिठो ५ केजी, दाल २ केजी, चिनी २ केजी, खाने तेल २ लिटर र खजुर आधा केजीका दरले वितरण गरिएको ह्युमन डेभलोपमेन्ट नेपालका अध्यक्ष अरमान हासमीले जानकारी दिनुभयो ।

यस क्रममा शनिवार वीरगञ्ज महानगरपालिका – २३ का ११६ परिवारलाई, वीरगञ्ज महानगरपालिका – ३१ का १२९ परिवार, पर्सागढी नगरपालिकाका १०१ परिवारलाई खाद्य सामाग्री वितरण गरिएको हासमीले बताउनुभयो । तीन वटै जिल्लामा गरी पाँच सय परिवारलाई ती सामाग्री वितरण गरिएको उहाँले जानकारी दिनुभयो ।अहिले मुस्लिम धर्मावलम्बीहरूको पवित्र पर्व रमजान चलिरहेको बेला मुस्लिम समुदायका विशेष गरी आर्थिक अवस्था कमजोर भएका, एकल महिला, असहायहरूलाई लक्षित गरी रमजान पर्व मनाउनका लागि सहयोग स्वरूप खाद्य सामाग्री वितरण गरिएको हासमीले बताउनुभएको छ ।

Leave a Reply