वीरगन्ज,वीरगन्ज महानगरपालिका भित्रका सामुदायिक विद्यालयहरुको शैक्षिक अवस्था सुधारका लागि महानगरले सक्रियता देखाएको छ । निर्वाचनका बेला मतदाताबीच शिक्षामा आमुल परिवर्तन गर्ने प्रतिबद्धता गरेबमोजिम मेयर राजेशमान सिंहले सामुदायिक विद्यालयको शैक्षिक गुणस्तर सुधारमा जोड दिनुभएको हो ।
महानगरभित्रका संस्थागत विद्यालयहरुको वर्गीकरण तथा शूल्क निर्धारण गरेलगत्तै मेयर सिंह निरन्तर सामुदायिक विद्यालयको अनुगमनमा रहनुभएको छ । सामुदायिक विद्यालयको शैक्षिक अवस्थालाई गुणस्तरीय र विश्वसनीय बनाउनका लागि कुनै कसर बाँकी नराख्ने प्रतिबद्धता जनाउँदै मेयर सिंहसहितको टोलीले लगातार तेस्रो दिन पनि वीरगन्जका विभिन्न सामुदायिक विद्यालयमा छड्के अनुगमन गरेको हो ।
मंगलवार मेयर सिंह वीरगन्जको विर्तास्थित त्रिजुद्ध स्कुलमा पुगेर छड्के अनुगमनका गर्नुभयो । काठमाण्डौंउपत्यका बाहिरको सबैभन्दा पहिलो स्कुलको रुपमा परिचित त्रिजुद्ध महाविरप्रसाद रघुविर राम माध्यमिक विद्यालयमा पुगेर मेयर सिंह नेतृत्वको टोलीले त्यहाँका विद्यार्थीहरुसँग पनि साक्षात्कार गरेको थियो । उहाँले कक्षा ९ र १० विद्यार्थीहरुसंग कुरा गर्दै पठनपाठनमा र समग्र विद्यालयमा भएका समस्याका सम्बन्धमा जानकारी लिनुभएको छ ।
टोलीमा सहभागी महानगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत लक्ष्मीप्रसाद पौडेल र महानगरपालिकाका शैक्षिक प्रशासन महाशाखा प्रमुख अर्विन्दलाल कर्णले पनि विद्यार्थीसँग जिज्ञासा र प्रश्न सोधेका थिए । सो अवसरमा अधिकांश विद्यार्थीहरुले अंग्रेजी माध्यम र नेपाली माध्यममा पढ्ने विद्यार्थीबीच विभेद हुने गरेको बताए ।
विद्यालयमा अतिरिक्त क्रियाकलाप नहुने र भए पनि नेपाली माध्यममा अध्ययनरत विद्यार्थीहरुलाई सहभागी नगराउने गरेको उनीहरुको भनाइ थियो । साथै कक्षामा अध्यापनका क्रममा शिक्षकहरुले मोवाइलमा कुरा गर्ने गरेको त्रिजुद्ध स्कुलका विद्यार्थीले बताएका छन । त्यसैगरी गरी छात्राहरुको लागि शौचालयको समस्याका साथै एउटै चापाकलमा धेरै विद्यार्थीले पानी पिउनुपर्ने बाध्यता रहेको विद्यार्थीको गुनासो थियो ।
अनुपस्थित हुनेको संख्या धेरै
विद्यार्थी हाजिरी पुस्तिकामा त्रिजुद्ध माविको कक्षा ९ मा १ सय ४ जना विद्यार्थीको नाम छ । मेयरसहित महानगरको टोली अनुगमनमा जाँदा कक्षामा जम्मा ४५ जना विद्यार्थी मात्रै उपस्थित थिए । १ सय ४ जना भर्ना भएपनि नियमित रुपमा ७०,८० जना मात्रै आउने गरेको विद्यार्थीहरुले बताए । मेयर सिंह, प्रमुख प्रशासकिय अधिकृत पौडेल र शैक्षिक प्रशासन महाशाखा प्रमुख कर्णले विद्यालयमा शिक्षक र विद्यार्थीहरुको हाजिरी रजिष्टार पनि चेकजाँच गरेका थिए । शिक्षकहरुको लागि विद्युतीय हाजिरी सञ्चालन गर्न मेयर सिंहले निर्देशन दिनुभयो । लगातार ३ दिनसम्म अनुपस्थित हुने विद्यार्थीको अभिभावकलाई खबर गरेर कारण सोध्नुपर्ने नियममै व्यवस्था भएको हुँदा अनुपस्थित हुनेको हाजिरीबाटै नाम हटाउन शैक्षिक प्रशासन महाशाखा प्रमुख कर्णले निर्देशन दिनुभएको थियो ।
अनुगमनका क्रममा त्रिजुद्ध स्कुलका प्रधानाध्यापक हरेन्द्रप्रसाद कुर्मीले उपलब्ध स्रोत साधनको उचित सदुपयोग गर्दै विद्यालयको शैक्षिक गुणस्तर कायम राख्ने प्रयास गरिरहेको बताउनुभयो ।
त्रिजुद्ध स्कुलको अनुगमनपछि महानगरको टोली विर्तास्थित कन्या माविमा पुगेको थियो । सो विद्यालयमा पनि कक्षा १० का विद्यार्थीसँगै बसेर मेयर सिंहले उनीहरुका समस्याका सम्बन्धमा जिज्ञासा राख्नुभयो । समस्या सोधपुछका क्रममा छात्राहरुले ३ वर्षदेखि छात्रवृतिको रकम नपाएको गुनासो सुनाएका थिए । छात्रवृत्तिको रकमका लागि भर्नुपर्ने फारमका सम्बन्धमा पनि उनीहरु अनभिज्ञ रहेको विद्यार्थीहरुले मेयर सिंहलाई सुनाएका थिए । साथै कुनै पनि बहानामा शूल्क उठाउन नहुने व्यवस्था भएपनि कन्या माविमा मासिक शूल्कको नाममा १ सय २५ रुपैयाँ र परीक्षा शूल्क २ सय २५ रुपैयाँ तिर्ने गरेको विद्यार्थीहरुले बताए । मेयर सिंहले आइन्दा विद्यार्थीसंग शूल्क नलिन निर्देशन पनि दिनुभएको छ ।
त्यसैगरी अर्थशास्त्र विषयको पुस्तक अहिलेसम्म पनि ४ जना छात्राले नपाएको हुँदा तत्काल पुस्तकको व्यवस्था मिलाउने शैक्षिक प्रशासन महाशाखा प्रमुख कर्णले बताउनुभयो । मेयर सिंहले घरबाटै टिपिन बक्समा खाजा ल्याउन आग्रह गर्दै होटल तथा पसलको खाजा नखान पनि विद्यार्थीहरुलाई आग्रह गर्नुभएको छ । कन्या माविको प्रवेशद्वार नजिकैको नाला अतिक्रमणमा परेको हुँदा उक्त संरचनालाई भत्काउने कार्य पनि केही दिनमै सुरु गरिने मेयर सिंहले बताउनुभयो । कन्या माविकी प्रधानाध्यापिका अनिता साहले अनुगमन टोलीलाई सहजीकरण गर्नुभएको थियो ।
त्यसैगरी वडा नम्बर २४ बहुअरीस्थित शारदा माविका विद्यार्थीले पनि आफ्ना समस्या सुनाउने अवसर पाएका छन । अनुगमनमा पुग्नुभएका शैक्षिक प्रशासन महाशाखा प्रमुख अर्विन्दलाल कर्णलाई समस्या सुनाउँदै कक्षा ९ की एक छात्रले भने, ‘तपाईहरु भन्नुहुन्छ कुनै पनि शूल्क लाग्दैन, सबै शिक्षा निःशूल्क भनेर । तर हामी यहाँ कम्प्युटर शूल्क, परीक्षा शूल्क र मासिक शूल्क तिर्छाै ।’ सोही कक्षाका एक छात्रा थप्छीन्, ‘यति मात्रै हैन चरित्र प्रमाण पत्र (क्यारेक्टर सर्टीफिकेट) मा गल्ती भएको सच्याउन पनि पैँसा तिर्नुपर्छ ।’ अर्का छात्रले भने, ‘कोठामा झ्याल छैन, बत्ती छैन, शौचालय व्यवस्थित छैन, शौचालयको दुर्गन्धले कक्षाकोठामै बस्न सक्ने अवस्था छैन ।’
छात्रवृत्तिको रकम नपाएको गुनासो शारदा माविका छात्राहरुले पनि गरे । विद्यालयमा अतिरिक्त क्रियाकलाप कहिलै पनि नहुने विद्यार्थीहरुको भनाई थियो । पुस्तकालयको पनि व्यवस्था नभएको हुँदा त्यसका लागि पहल गरिदिन माग पनि उनीहरुले गरेका छन् । शैक्षिक प्रशासन महाशाखा प्रमुख कर्णले अर्काे पटक आउँदा ति सबै समस्याको समाधान गर्न विद्यालयका प्रधानाध्यापक दयाकान्त झालाई निर्देशन दिनुभएको छ ।

















