निजगढ,बारा क्षेत्र नम्बर १ मा नेकपा एमालेका प्रतिनिधिसभा सदस्य पदका उम्मेदवार अच्युतप्रसाद मैनालीले आगामी निर्वाचन “मुलुक बनाउने र बिगार्ने शक्तिबीचको प्रतिस्पर्धा” भएको बताउनुभएको छ ।उम्मेदवार मैनालीले चुनाव प्रचारको क्रममा क्षेत्र नं. १ का मतदातासमक्ष अपिल जारी गर्दै यस्तो बताउनुभएको हो । उहाँले सुशासन, स्थिरता र विकासका लागि आफ्नो पक्षमा मतदान गर्न पनि आग्रह गर्नुभएको छ ।
उम्मेदवार मैनालीले २०७९ सालको निर्वाचनमा क्षेत्र नम्बर १ का मतदाताले दिएको विश्वासप्रति कृतज्ञता व्यक्त गर्दै राजनीतिक घटनाक्रमका कारण संसद विघटन भएपछि आफूले जनतासामु गरेका सबै प्रतिबद्धता पूरा गर्न नपाएको तर छोटो अवधिमै भए पनि जनहित र क्षेत्रीय विकासलाई प्राथमिकतामा राखेर इमानदारिता पूर्वक काम गरेको दाबी पनि गर्नुभएको छ ।

मैनालीले देश हाल राजनीतिक, आर्थिक र सामाजिक रूपमा जटिल अवस्थाबाट गुज्रिरहेको उल्लेख गर्दै संविधानलाई लयमा फर्काउन र स्थिर सरकार निर्माण गर्न देशमा बलियो राष्ट्रवादी शक्ति आवश्यक रहेको बताउनुभएको छ ।
उहाँले आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनलाई “मुलुक बनाउने र बिगार्ने शक्तिबीचको प्रतिस्पर्धा” को संज्ञा दिँदै मतदातालाई सचेततापूर्वक निर्णय लिन पनि आग्रह गर्नुभएको छ ।

अपिलमा मैनालीले आफू २०३६-०३७ सालदेखि सक्रिय राजनीतिमा संलग्न रहेको स्मरण गराउँदै सामाजिक न्याय, शिक्षा, स्वास्थ्य, रोजगारी सिर्जना र पूर्वाधार विकासका सवालमा निरन्तर पहल गर्दै आएको उल्लेख गर्नुभएको छ । विगतमा झैँ बारा क्षेत्र नं. १ का जनताको हक–अधिकारको संरक्षण र समग्र विकासका पक्षमा सशक्त कदम र आवाज उठाउने प्रतिबद्धता उहाँले दोहो¥याउनुभएको छ ।

मैनालीले “समृद्ध नेपाल र सुखी नेपाली” को लक्ष्यसहित एमाले अघि बढिरहेको दाबी गर्दै सुशासन, विकास र सामाजिक न्यायका लागि सूर्य चिन्हमा मतदान गरी आफूलाई विजयी गराउन मतदातासमक्ष अपिल गर्नुभएको छ ।

Leave a Reply