राजविराज – मधेश प्रदेशमा सुरक्षा बललाई अझ मजबुत र प्रभावकारी बनाउन निर्माण गरिएको मधेश प्रदेश प्रहरी तालिम केन्द्र अन्तर्गतको नव निर्मित आन्तरिक प्रशिक्षण भवन सोमबार एक विशेष समारोहका बीच उद्घाटन भएको छ।

उक्त भवनको उद्घाटन मधेश प्रदेश सरकारका प्रवक्ता एवम् गृह, सञ्चार तथा कानुनमन्त्री माननीय राजकुमार लेखीले गर्नुभयो। मन्त्री लेखीले उद्घाटन कार्यक्रममा प्रदेश सरकारले सुशासन, शान्ति–सुरक्षा र जनताको विश्वासलाई पहिलो प्राथमिकतामा राख्दै प्रहरी संस्था सुदृढीकरणतर्फ निरन्तर काम गरिरहेको बताउनुभयो।
३ करोड १८ लाख रुपैयाँको लागतमा निर्माण सम्पन्न भएको यस भवनमा एकै पटक २०० प्रशिक्षार्थीलाई प्रशिक्षण दिन सकिने व्यवस्था गरिएको छ। यसले प्रहरीको क्षमता अभिवृद्धि, तालिमको गुणस्तर सुधार र आधुनिक कार्यप्रणालीको अभ्यासलाई अझ सहज बनाउने विश्वास लिइएको छ।
उद्घाटन समारोहमा मन्त्रीमण्डलका सदस्य, सुरक्षा निकायका प्रमुख, स्थानीय जनप्रतिनिधि, नागरिक समाजका अगुवा तथा विभिन्न संघसंस्थाका प्रतिनिधिहरुको उपस्थिति रहेको थियो। कार्यक्रममा बोल्दै मन्त्री लेखीले प्रहरी तालिम केन्द्रलाई प्रदेशकै गौरवमयी परियोजना बताउँदै भन्नुभयो – “सुरक्षा बलको क्षमता र दक्षता नै सुशासनको आधार हो। आधुनिक तालिम भवनले प्रहरीलाई जनमैत्री र परिणाममुखी बनाउन मद्दत गर्नेछ।”
यस आन्तरिक प्रशिक्षण भवनमा तालिम प्राप्त गर्ने प्रहरी सदस्यहरूले भविष्यमा अपराध नियन्त्रण, शान्ति स्थापना, विपद् व्यवस्थापन र समुदायसँगको सहकार्यलाई अझ प्रभावकारी बनाउन सक्ने अपेक्षा गरिएको छ।













