वीरगञ्ज,नागरिक समाज वीरगञ्जको नाममा महानगरका मेयर राजेशमान सिंहको पक्षमा जुलुस निकालिएको छ । मेयर राजेशमान सिंहको चरित्र हत्या गर्न खोजिएको भन्दै समाजको नाउँमा बिहीवार वीरगञ्जमा प्रर्दशन गरिएको हो ।
नागरिक समाज वीरगञ्जको अगुवाइमा वीरगञ्जको रातो बंगलाबाट निकालिएको जुलुसका सहभागीहरुले घण्टाघर, माइस्थान, आदर्शनगर हुँदै बजार परिक्रमापछि जिल्ला प्रशासन कार्यालयमा पुगेर ज्ञापनपत्र बुझाएको थियो ।
नागरिक समाजका अगुवा श्रीनन्दन मिश्रले पर्साका सहायक प्रमुख जिल्ला अधिकारी सानुबाबु अधिकारीलाई ज्ञापनपत्रमा बुझाउँदै महानगर नेतृत्वविरुद्ध भ्रामक तथा अनर्गल प्रचारबाजी गर्नुको साथै सामाजिक तथा धार्मिक सदभाव बिगार्ने कार्य भइरहेकोले छानविन गरी दोषिमाथि कारबाहीको माग गर्नुभएको छ ।

ज्ञापनपत्रमा भनिएको छ, ‘केही समययता मेयर सिंहले वीरगञ्जमा विकासको लहर चलाउँदै आएका छन्, मठमन्दिर जस्ता सार्वजनिक सम्पति बचाइरहेका छन् । वीरगञ्जको मुहार नै फेर्न काम गरिरहेका छन् । तर केही समयदेखि मेयर सिंहबारे अनर्गल प्रचार गर्न केही तत्व सक्रिय छ्, जसमाथि हाम्रो ध्यानाकर्षण भएको छ । त्यस्ता गतिविधि गर्नेहरुलाई कानुनी दायरामा ल्याएर कारबाही होस ।’ज्ञापनपत्र बुझ्दै सहायक प्रमुख जिल्ला अधिकारी अधिकारीले कानुनी प्रक्रिया अनुसार आफूहरु अगाडि बढ्ने आश्वासन दिनुभयो ।जिल्ला प्रशासन कार्यालयमा बुझाइको ज्ञापनपत्र प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय र गृहमन्त्रालयमा समेत बोधार्थ दिइएको छ ।
वीरगञ्जका केही स्थानीयले जिल्ला प्रशासन कार्यालय पर्साबाट झुटो कागजातको आधारमा अर्काको छोरीलाई आफ्नो छोरी बनाइ नागरिकता दिलाएको भन्दै मेयर सिंहविरुद्ध यही २४ पौषमा कारबाहीको माग गर्दै विभिन्न ७ वटा सरकारी निकायमा उजुरी दिएपछि सिंहको समर्थनमा जुलुस प्रदर्शन गरिएको हो ।उजुरीमा झुटो विवरणको आधारमा मेयर सिंहले ०७५ सालको १३ साउनमा रुविना श्रेष्ठको नागरिकता दिलाएको आरोप लगाइएको छ ।
जिल्ला प्रशासन कार्यालयमा १३२५ नम्बरमा दर्ता भएको जाहेरीमा रुविना श्रेष्ठको नाममा जारी ३४–०१–७५–०४८४७ नम्बरको नागरिकतामा बुवाको नाम राजेशमान सिंह लेखिएको छ, जसमा आमाको नाम राखिएको छैन् । मेयर सिंहको छोरीको नाममा नागरिकता लिएकभी रुविना श्रेष्ठ भने राहदानी बनाएर हाल अध्ययनको लागि अस्ट्रेलियामा छिन् ।
नागरिकता प्रकरणमा जिल्ला प्रशासन कार्यालय पर्साले अनुसन्धान गरिरहेको बताइएको छ ।



















