रौतहट,वन कर्मचारीले रौतहटका दुई ठाउँबाट चोरी तस्करीको काठ बरामद गरेकाछन । जिल्लाको वृन्दावन सब–डिभिजन र चेतनगर सब–डिभिजन कार्यालय अन्तर्गतको जङ्गलबाट तस्करले काठ तस्करी गरी ल्याइरहेको अवस्थामा वन कर्मचारीले चारवटा साइकल, चार थान सालको गोलिया‚ एउटा मोटरसाइकल सहित एकजना मानिसलाई पक्राउ गरेको हो ।

वृन्दावन सब–डिभिजन वन कार्यालय अन्तर्गतबाट काठ चोरी तस्करी गरेर लगिरहेको अवस्थामा वन कर्मचारीले तीन थान सालको गोलिया, दुई थान साइकल र एक थान मोटरसाइकलसहित एकजना तस्कर पक्राउ गरेको छ ।पक्राउ पर्नेमा गढीमाई नगरपालिका– ९ इनारवाका राकेशकुमार साह रहेको डिभिजन वन कार्यालय रौतहटले जनाएको छ । पक्राउ परेका साहलाई बी.आर– ०६ बी.के ५७६९ नम्बर प्लेटको भारतीय मोटरसाइकलसहित नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ ।
शुक्रवार राति करिब ८ बजेको समयमा वृन्दावन सब–डिभिजन वन कार्यालयका जमदार शेख अनवरको नेतृत्वमा खटिएको वनगस्ती टोलीले साहसहित काठ साइकल र मोटरसाइकल बरामद गरेको हो ।बरामद भएको काठ‚ साइकल र मोटरसाइकल वृन्दावन सब–डिभिजन वन कार्यालयमा ल्याएर राखिएको छ भने काठसहित पक्राउ परेका साहलाई आवश्यक कारबाहीका लागि डिभिजन वन कार्यालय चन्द्रनिगापुर पठाइएको वृन्दावन सब–डिभिजन वन कार्यालयका सहायक वन अधिकृत अनिल महतोले जानकारी दिनुभएको छ ।यस्तै सब–डिभिजन वन कार्यालय चेतनगर अन्तर्गतको जङ्गलबाट चोरी तस्करी गरी ल्याइरहेको काठ पनि वन कर्मचारीहरुले बरामद गरेकाछन ।
शुक्रवार मध्यराति करिब १८ क्युफिटको सालको गोलिया दुईवटा साइकलमा ल्याइरहेको अवस्थामा वन कर्मचारीले उक्त काठ बरामद गरेका हुन । वन कर्मचारीलाई देखेर तस्करहरु भागेको सब–डिभिजन वन कार्यालय चेतनगरले जनाएको छ ।

















