विद्युतको बक्यौता भुक्तानी नगरेको भन्दै नेपाल विद्युत प्राधिकरणले उद्योगको लाइन काटिदिएपछि उद्योग मालिकहरु समस्या रहेकै अवस्थामा मजदुरहरु सडक संघर्षमा उत्रिएका छन् । हुन त लाइन काटिएपछि पीडित बन्न पुगेका मालिकहरुले आन्दोलन गर्नुपर्ने हो तर उद्योग बन्द भएपछि रोजगारीको विषय उठाएर मजदुरहरुले आन्दोलन थालेका छन । वीरगन्ज– पथलैया औद्योगिक करिडोरका मजदुरहरुको आन्दोलन आफ्नो पक्षमाभन्दा पनि मालिकको बचाउ गर्न गरिएको जस्तो देखिएको छ । हुन त उनीहरुले विद्युत लाइन कटौतिको सिधै विरोध पनि गरेका छैनन । न उद्योगीहरुले नेपाल विद्युत प्राधिकरणलाई बुझाउनुपर्ने बक्यौता रकमको विषयमा नै मुख खोलेका छन । उनीहरुले उद्योग बन्द भएपछि खोसिन पुगेको रोजगारीको ग्यारेन्टी हुनपर्ने मात्रै माग गरेका छन । यसको अर्थ उद्योगले बुझाउनुपर्ने बक्यौता बारे मजदुरलाई कुनै मतलब छैन, प्राधिकरणले विद्युत लाइन सुचारु गरेर उद्योग खुलाउनुप¥यो भन्ने नै हो ।
विद्युतको बक्यौता नतिर्ने उद्योगहरुको प्राधिकरणले लाइन काटेपछि उद्योग बन्द हुन पुगको छन । प्राधिकरणले गरेको यो निर्णय नेपालको कानुन अनुसार कै हो । उद्योग संचालनमा आउनको लागि मालिकले पहिले बक्यौता तिर्नुपर्ने हुन्छ । तर यो समस्या मजदुरहरुको होइन, उद्योगीहरुको हो । यो बिषयमा उद्योगीहरु गम्भीर बन्नुपर्ने हुन्छ । सरकारले पनि यसमा सहयोग गर्ने कुनै ठाउँ छैन । भएको बक्यौता रकम नतिर्ने अनि उद्योगीहरुले सुविधा खोज्ने यो सुहाउने कुरा होइन ।
मजदुरहरुलाई सडकमा उतारेर आफ्नो अभिष्ट पूरा गर्न खोज्ने उद्योगीहरुको नियत पनि ठीक देखिएन । विद्युत खपत गरेर सामान उत्पादन गरेर नाफा कमाउने अनि अहिले यो वा त्यो बाहना बनाएर बक्यौता नतिर्ने कार्यलाई कुनै पनि सर्तमा ठीक भन्न सकिदैन । बिजुलीको अभाव भएका कारणले वा बिजुली नभएकै कारणले उद्योगहरु बन्द हुनु विडम्बनाको कुरा हो । उद्योगहरु निर्वाध रुपमा संचालनमा रहनु पर्दछ र मजदुरहरु पनि यसैका कारण बेरोजगार हुने अवस्थामा पुग्नु हुँदैन । मजदुरहरुले उठाएको विषयमा ध्यान दिएर सरकारले उद्योगीको विद्युतको बक्यौता रकम असुल गर्ने उपाय खोज्न आवश्यक छ । तर, महशुल नतिरी उद्योग संचालन गर्न खोज्नु चाही सरासर निन्दनीय हुन्छ । उद्योगीहरुले पनि सरकारलाई नियमअनुसारको कर र शुल्क त तिर्नै पर्छ ।

















