सरकारले बिदेशमा भ्रमण बर्षको प्रचार स्थगित गर्ने निर्णय गरेको छ । नेपाल सरकारले सन् २०२० लाई पर्यटन वर्ष घोषणा गरे पनि विश्वव्यापी रूपमा फैलिएको कोरोना भाइरसका कारण नेपालमा पर्यटक आउने वातावरण बन्न सकेन । नेपाल सरकारले पर्यटन वर्ष घोषणा गरे पनि पूर्वतयारीसमेत राम्रो नभएको पर्यटन व्यवसायीले गुनासो गरिरहेको अवस्थामा कोरोना भाइरस एक प्रकारको महामारी लिएर आयो ।
चीनको हुवे प्रान्तबाट शुरू भएको कोरोना भाइरसले विश्वका ३७ मुलुकमा आफ्नो उपस्थिति देखाइसकेको त छ नै, त्योभन्दा पनि चीनको छिमेकी भएको र त्यहींबाट बढी पर्यटक आउने आशमा बसेको नेपालका लागि कोरोना भाइरस दुखद् समाचार बनेर आयो ।नेपाल सरकारले मुलुक कोरोना भाइरसमुक्त रहेको प्रचार गर्दै आए पनि रोगको विश्वव्यापी दुन्दुभीभित्र उसको आवाज मण्डुक ध्वनि हुन पुगेको छ । पर्यटन मन्त्रालयले स्वास्थ्य मन्त्रालयसँग समेत समन्वय नगरी ‘कोरोना भाइरसमुक्त मुलुक’ का रूपमा आफूलाई चित्रित गरेको छ ।
नेपाल छिमेकीहरूको तुलनामा निकै सानो मुलुक भएको र कोरोनाजस्तो भाइरस भित्रिएमा उपचार, सुरक्षा, क्वारेन्टाइनलगायतको व्यवस्थापन त्यति सजिलो नभएको भन्दै स्वास्थ्य मन्त्रालयले प्रतिक्रिया जनाएको छ । सरकार भने पर्यटन वर्षका नाममा नेपाल भित्रिने पर्यटकलाई सेवासुविधा दिनु र सुरक्षित महशुस गर्ने वातावरण सृजना गर्नुको साटो उल्टै विगत वर्षमा भन्दा पर्यटन वर्षमा नेपाल भित्रने पर्यटकसँग भिसा शुल्कमा दोब्बरले बृद्धि गरी कमाउने बेला यही हो भन्दै छ ।कोराना कारण जे भएपनि भ्रमण बर्षका लागि ठूलो क्षति भएको छ र दाँतमा ढुंगा पनि लागेको छ ।