सरकारले वीरगञ्ज चिनी मिलसहितका उद्योगधन्दाको विकासमा ध्यान दिन सकेको छैन ।त्यसो त अहिले उद्योगमन्त्री पनि पर्सा जिल्लाकै छन् । यसअघिका सरकारहरुले नयाँ उद्योग खोल्नुभन्दा पनि भएका उद्योगधन्दाको समेत संरक्षण गर्न सकेनन्, जुन मुुलुकको लागि विडम्बना हो । वर्तमान सरकारले पनि विगतकै सरकारका चरित्र अनुसार उद्योगधन्दाको विकास र विस्तारमा खासै ध्यान दिन सकेको छैन ।उद्योगधन्दाको विकास र विस्तारले आर्थिक गतिविधिलाई चालयमान गराउँछ र आर्थिक वृद्धिमा थप सहयोग गर्दछ । उद्योगधन्दाको विकासले घरेलु अर्थतन्त्रलाई मात्र सहयोग गर्दैन निकासी व्यापारमार्फत देशबाहिरबाट धन भित्र्याउने अवसर पनि प्रदान गर्दछ । सपन्नताको मार्गमा अगाडि बढिरहेका र सफलता हासिल गरिसकेका राष्ट्र सबैमा औद्योगिकीकरणले तीव्रता लिएपछि नै आर्थिक वृद्धि राम्रो भएको थियो ।उद्योगधन्दाले रोजगारीमार्फत आय बढाएपछि उपभोग्य वस्तुको माग पनि बढ्छ । धेरै लचक नभए पनि खाद्यान्नको माग पहिलो प्राथमिकतामा पर्दछ । खाद्यान्न महँगो भयो भने ज्यालामा दबाब पर्दछ ।फलस्वरुप, रोजगारीको अवसर खुम्चिन्छ । त्यसै गरी कतिपय कच्चा पदार्थ कृषि क्षेत्रबाट प्राप्त हुन्छ । त्यसकारण औद्योगिकीकरण र कृषि विकास एक–अर्काका परिपूरकका रुपमा सँगै जानुपर्छ भन्ने मान्यता पनि छ ।पर्साबाट उद्योगमन्त्री बनेका रमेश रिजालका लागि यो अवसर पनि हो अब उनले आफ्नो कार्यकालमा केही चैं गर्नु पर्दछ ।