काठमाडौँ, जनमत पार्टीको अनुशासन समितिले पार्टीको नीति, निर्देशन तथा विधानविपरीत काम गरेको भन्दै सो पार्टीका पाँच नेतालाई कारबाही गरेको छ ।कारबाहीमा पर्नेमा पूर्वसांसद बाराका शिवचन्द्र कुशवाहा, सप्तरीका गुलाब मण्डल, रुपन्देहीका शङ्कर खड्का, भोपेन्द्र यादव तथा कपिलवस्तुका भगवानदास यादव रहेका सो पार्टीका केन्द्रीय प्रवक्ता शरद सिंहले जानकारी दिनुभयो ।उहाँका अनुसार कुशवाहालाई पार्टीको साधारण सदस्यसमेत नरहनेगरी कारबाही गरिएको छ भने मण्डल, भगवानदास यादव र खड्कालाई जनमत पार्टीको सदस्यबाट एक वर्षका लागि निलम्वन गरिएको छ । यसैगरी भोपेन्द्र यादवलाई पार्टीको सचिवालयबाट तीन महिनाका लागि निलम्वन गरिएको जनाइएको छ ।सो पार्टीले विज्ञप्ति प्रकाशन गरी कुशवाहाले पार्टी अनुशानविपरीत काम गर्दै आएको तथा पार्टी नेतृत्वविरुद्ध लागेको, भोपेन्द्र यादवले केन्द्रीय नीतिको उलङ्घन गरी गुटबन्दी गरेको जनाएको छ ।यस्तै मण्डलले मन्दिरको व्यवस्थापन समितिको निर्वाचनमा बागी उम्मेदवार बनेर असहयोग गरेको, खड्काले विद्यालय व्यवस्थापन समितिको निर्वाचनमा बागी उम्मेदवार बनेर असहयोग गरेको तथा भगवानदास यादवले पार्टीका बैठक र काम कारबाहीका क्रममा होहल्ला गर्दै अनुशासनहिन काम गरेको सो विज्ञप्तिमा जनाइएको छ । (रासस)

Leave a Reply