वीरगञ्ज । बीरगञ्ज महनगरपालिकाको बिर्तास्थित बाल सुधार गृहमा पुनः विवाद भएको छ । ४ जना बाल बन्दीहरुको स्थानान्तरणको विषयलाई पुनः विवाद भएको हो ।दुइ दिन अगाडि मन्त्रालयबाट आएको पत्र अनुसार सरुवा गर्न खोज्दा बाल बन्दीहरु विरोधमा उत्रिदै बाल सुधार गृहमा तोडफोड समेत गरेका छन् ।४ जना बाल बन्दीहरुलाई स्थानान्तरण गर्ने विषयमा विवाद हुँदा गएराती बाल सुधार गृह पुनः तनावपूर्ण बनेको थियो ।विवाद उत्पन्न हुँदा बाल बन्दीहरुले सुधार गृहमा पुनः निर्माण गरिएका संरचनाहरु समेत तोडफोड गरेका छन् ।बाल सुधार गृहका प्रमुख टिकाकृष्ण काफ्लेका अनुसार उनीहरुले पर्खाल, एसी, गिजरसहित पुनः निर्माण गरिएका सम्पूर्ण संरचनाहरु भत्काइदिएका छन् ।उनका अनुसार मन्त्रालयबाट आएको सरुवा सूची अनुसार ४ जनालाई स्थानान्तरणका लिन जाँदा विवाद सुरु भएको हो ।
मन्त्रालयले यही ३ गते बाल सुधार गृहबाट पृथ्बी पटेल, विजय यादव, नन्दन यादव र अशोक झालाई अन्यत्र सरुवा गर्न पत्र पठाएको छ ।त्यही पत्रबमोजिम चारैजनालाई हेटौडा र काठमाण्डौं सरुवा गर्न थालिएको थियो । तर त्यही थाहा पाएपछि उसका समर्थकहरुले पुनः विवाद गरेको पाइएको पर्सा प्रहरीले जनाएको छ ।बाल सुधार गृहमा अवस्था पुनः तनावग्रस्त बनेपछि व्यापक संख्यामा प्रहरी परिचालन गरिएको छ ।गएरातीदेखि बाल सुधार गृहमा प्रहरी परिचालन गरिएको पर्सा प्रहरी प्रमुख कोमल शाहले बताए । उनका अनुसार अवस्था तनावग्रस्त बनेपछि रातभरि नै प्रहरी खटाइएको थियो ।तर अहिले भने बाल सुधार गृहको अवस्थामा सामान्य बनेको पाइएको पर्सा प्रहरीले जनायो । बीरगञ्ज बाल सुधार गृहमा ११३ जना बाल बन्दीहरु छन् ।यसअघि पनि भदौंको अन्तिम साता बाल सुधार गृह तनावग्रस्त भएको थियो । बाहिरबाट ल्याइएका नयाँ बाल बन्दीहरुको विषयलाई लिएर बाल बन्दीहरु दुई गुटमा विभाजित भएका थिए ।

 

Leave a Reply