काठमाण्डौ – राष्ट्रिय सभा सदस्य चुनावका लागि ५२ जनाले उम्मेदवारी दर्ता गराएका छन् । १९ सदस्यका लागि माघ ११ गते हुने चुनावमा सात वटै प्रदेशमा गरी ५२ जना उम्मेदवारले मनोनयनपत्र दर्ता गराएका निर्वाचन आयोगले जनाएको छ ।
आयोगले सोमवार बिहान १० बजेदेखि दिउँसो ३ बजेसम्ममा सात वटै प्रदेशको निर्वाचन अधिकृतको कार्यालयमा उम्मेदवारको मनोनयनपत्र दर्ता गराएको हो । उम्मेदवारी दर्ता गराउनेमा महिला समूहतर्फ १८ जना, दलित समूहतर्फ पाँच जना, अपाङ्गता भएका व्यक्ति वा अल्पसङ्ख्यक समुदायतर्फ आठ जना र अन्य समूहतर्फ २१ जना छन् ।निर्वाचन आयोगका अनुसार कोशी प्रदेशमा पाँच जना, मधेस प्रदेशमा पाँच जना, बाग्मती प्रदेशमा १५ जना र गण्डकी प्रदेशमा आठ जना उम्मेदवारको मनोनयनपत्र दर्ता भएको छ । यस्तै लुम्बिनी प्रदेशमा सात जना, कर्णाली प्रदेशमा छ जना र सुदूरपश्चिम प्रदेशमा छ जना उम्मेदवारको मनोनयनपत्र दर्ता भएको निर्वाचन आयोगले जनाएको छ ।स्वीकृत निर्वाचन कार्यक्रमअनुसार भोलि उम्मेदवारको विरोधमा उजुरी दिने, पर्सि २५ र २६ गते मनोनयनपत्र र उजुरीमाथि जाँचबुझ गरी नामावली प्रकाशित गर्ने, पुस २७ गते उम्मेदवारले नाम फिर्ता लिने तथा अन्तिम नामावली प्रकाशन गर्ने र पुस २८ गते उम्मेदवारलाई निर्वाचन चिह्न वितरण हुनेछ ।माघ ११ गते १९ सदस्यका लागि हुने चुनावमा सत्तारूढ गठबन्धनका दलहरूले सामूहिक उम्मेदवारी दिएका छन् भने नेकपा एमालेले एकल उम्मेदवारी दिएको छ । अहिलेकै अवस्थामा १९ वटै सिटमा गठबन्धनका उम्मेदवार निकै बलिया देखिएका छन् । तर गठबन्धनका मतदाताले नै पार्टी नभई व्यक्ति पनि हेर्ने भएकाले आफ्ना उम्मेदवारले जित्ने एमालेको दाबी छ ।
मधेशमा पाँच जनाको उम्मेदवारी
जनकपुरधाम,राष्ट्रिय सभा सदस्य निर्वाचनका लागि मधेश प्रदेशमा पाँच जनाले उम्मेदवारी दर्ता गराएका छन् । निर्वाचन आयोगले सोमवार दिउँसो ३ बजेसम्म उम्मेदवारी दर्ताका लागि समय तोकेको थियो । सोही समयमा मधेश प्रदेशमा पाँच जनाले उम्मेदवारी दर्ता गराएका हुन् ।प्रादेशिक निर्वाचन कार्यालय मधेश प्रदेशका सूचना अधिकारी कृष्ण राउतका अनुसार नेपाली कांग्रेसबाट अन्यमा आनन्दप्रसाद ढुङ्गना, जनमत पार्टीबाट रामाशंकर महासेठ, नेकपा (एमाले)बाट अन्यमा कुमारी विजेता झा, महिलामा उषादेवी थरुनी र जनता समाजवादी पार्टी (जसपा)बाट महिलामा पूजा चौधरीले उम्मेदवारी दर्ता गराउनुभएको छ ।मधेश प्रदेशबाट रिक्त अन्य र महिला गरी दुई सिटमा आगामी माघ ११ गते राष्ट्रिय सभा सदस्यका लागि निर्वाचन हुँदैछ ।