वीरगन्ज,जिल्ला अदालत पर्साको अन्तरकालीन आदेशका कारण वीरगन्ज महानगरपालिका वडा नम्बर २० मा पर्ने हरपतगंज सडकको निर्माण कार्य रोकिएको छ ।हरपतगन्ज निवासी नन्दलाल प्रसाद बरैले सहरी विकास तथा भवन निर्माण कार्यालयलाई विपक्षी बनाएर जिल्ला अदालतमा पर्सामा दिनुभएको मुद्दामा सुनुवाइ गर्दै न्यायधिश प्रल्हादकुमार योगीको ईजलासले सडकको बीच भागबाट दुवैतर्फ बराबर जग्गा पर्ने गरी सडक निर्माण गर्न आदेश दिएको थियो ।अदालतले नन्दलालको जग्गामा पर्ने गरी सडक निर्माण नगर्न विपक्षीको नाममा अन्तरकालीन आदेश जारी गरेकोले सडक निर्माण कार्य रोक्का भएको हो । उक्त मुद्दामा निवेदकको तर्फबाट अधिवक्ता रामबलीप्रसाद चौहानले बहस गर्नुभएको थियो भने सहरी विकास तथा भवन निर्माण कार्यालयको तर्फबाट महमद आयुब खाँ र वडा कार्यालयको तर्फबाट अधिवक्ता कमलमोहन पोखरेल बहस गर्नुभएको थियो ।जिल्ला अदालतले निवेदकको पक्षमा अन्तरकालीन आदेश जारी गरेको र जग्गा धनीले आफ्ना जग्गाको मुअब्जा माग गरेकोले निर्माण कार्य रोक्का भएको उक्त निर्माणको ठेक्का लिएको निर्माण कम्पनी पप्पु कन्सट्रकसनले जनाएको छ ।निर्माण कम्पनी पप्पु कन्सट्रकसनले अदालतको आदेश विपरित गएर निर्माण कार्य अगाडि बढाउँन नसक्ने प्रतिक्रिया दिएको छ भने सहरी विकास तथा भवन निर्माण कार्यालयले स्थानीय जनप्रतिनिधि र असन्तुष्ट पक्षसंग समन्वय गरी निर्माण कार्य अगाडि बढाउँन निर्माण कम्पनीलाई आग्रह गर्दैआएको छ ।सहरी विकास तथा भवन निर्माण कार्यालय वीरगन्जका प्रमुख बिनोद सिंहले सोमबार एउटा पत्र पठाएर निर्माण कम्पनी पप्पु कन्सट्रकसनलाई निर्माणको कार्य अगाडि बढाउँन आग्रह गर्नुभएको छ । तर सडक निर्माण कार्यमा असन्तुष्ट पक्षसंग बसेर समस्याको समाधान गर्नुपर्ने जिम्मेवारी स्थानीय निकायका जनप्रतिनिधि र सहरी विकास तथा भवन निर्माण कार्यालय भएको जानकारहरुले बताएका छन । उनीहरुले आफ्ना जिम्मेवारी पूरा गर्न नसक्ने स्थानीय सरकार र सहरी विकास तथा भवन निर्माण कार्यालयले निर्माण कम्पनीमाथि समस्या समधान गर्न जिम्मा थुपार्नुको औचित्य नहुने बताएका छन ।



















