सबैलाई थाहा छ, डाक्टर भनेको सम्मानित पेसा हो । यसलाई कतिपयले भगवानको रुपमा पनि लिने गर्दछन् । डाक्टरले मृत्युको मुखमा पुगेको बिरामीलाई समेत जीवनदान दिने भएपछि यो पेसामा संलग्न रहेका व्यक्तिहरु यसै पनि भगवान जस्तै हुन्छन् । धेरैको जीवन डाक्टरहरुले पक्कै पनि बचाएका छन् तर केहीको भने चाहेर पनि बचाउन सकिरहेका हुँदैनन् अनि डाक्टरमाथि नागरिकहरुको आक्रोश बढ्ने गर्दछ । क्षणिक आक्रोशले पनि बदलाको भाव सृजना गराएर डाक्टरमाथि आक्रमण हुने गरेको देखिन्छ ।हेटौंटाको सन्चो अस्पतालमा पनि भएको यही नै हो । आफ्ना मानिसको जीवन गएपछि उनीहरुमा आफन्तहरुमा पनि आक्रोश आउनु गलत पनि होइन तर यसो भन्दैमा आक्रोशका कारण डाक्टरमाथि नै हातपात गर्नुपर्छ भन्ने पनि होइन । कानुनी रुपमा पनि डाक्टरलाई सजायँ दिने ठाउ चैं रहन्छ । कानुन नै हातमा लिनु चैं गलत नै हो ।यसो भन्दैमा फेरि डाक्टरहरुको पनि गल्ती नै नहोला भन्न पनि सकिदैन । कतिपय डाक्टरहरुको निकै बद्मासी देखिन्छ । उनीहरुले आफ्ना बिरामीहरुको स्वस्थ्यमाथि पनि खेलवाड गरेको उदाहरण समाजमा छन् ।त्यसैले पनि भगवानको रुपमा रहेका डाक्टरहरुको सानो कमजोरीका कारण ठूलो मानवीय क्षति पनि भएको हुन सक्छ । डाक्टरको पनि गल्ती हुन सक्ने भएकाले यसतर्फ बेलैमा उनीहरु पनि सचेत रहेको खण्डमा डाक्टरमाथिको आक्रमण रोकिन सक्ने छ ।