निजगढ,बाराको निजगढ नगरपालिका वडा नम्बर १२ थलीस्थित अपाङ्गता भएकी ११ बर्षिया एक जना बालिका बलात्कार गरेको आरोपमा प्रहरीले सोही वडाको रामथली बस्ने ६४ बर्षिया वृद्धलाई पक्राउ गरेको छ ।घटनापछि फरार रहेका राना माईला भनिने सोमबहादुर लुङ्ग्बालाई इलाका प्रहरी कार्यालय निजगढ माताहातको अस्थायी प्रहरी पोष्ट रतनपुरको प्रहरी टोलीले निजगढ वडा नम्बर ११ स्थित आफन्तको घरमा लुकेर बसेको अवस्थामा शुक्रवार राती करिब ९ बजे नियन्त्रणमा लिएको हो । स्थानीयले दिएको सूचनाको आधारमा प्रहरी राति नै लुङ्ग्बा लुकेर बसेको घरमा पुगेको थियो । उनलाई हाल ईलाका प्रहरी कार्यालय निजगढमा राखिएको छ ।बालिकाको घर नजिकै जङ्गलमा बाख्रा गोठालो गएका लुङ्गबाले घरमा कोहि पनि नभएको मौका छोपेर शुक्रवार दिउसो बालिकामाथि बलात्कार गरेका थिए ।घटनाको समयमा बालिकाकी आमा छिमेकी गाउँमा रहेको आफन्तको घरमा गएकी थिइन । ‘घर फर्किएर आउँदा छोरी रगताम्य भएर अचेत अवस्थामा मझेरीमा छ्टपटाएकी थिइन, आमाले भनिन्, पछि बुझ्दै जाँदा अपराधिले कुकर्म गरेको पत्ता लाग्यो ।’लुङ्गबाले पनि प्रहरी समक्ष बालिका बलात्कारको स्वीकारोक्ति गरिसकेको निजगढ प्रहरीले जनाएको छ । जिल्ला अदालत बाराबाट म्याद थप गरी लुङ्ग्बामाथि थप अनुसन्धान भइरहेको प्रहरी निरीक्षक घनश्याम श्रेष्ठले बताउनुभएको छ ।जन्मदेखि नै हिंडन र बोल्नसमेत नसक्ने (विशेष क्षमता) की बालिका आमासंगै घरमा बस्दैआएकी थिइन । बालिकाको हाल प्रादेशिक अस्पताल कलैयामा उपचार भइरहेको छ ।