रौतहट,रौतहटको फतुवाविजयपुर नगरपालिका वडा नम्बर २ स्थित शीतलपुरमा दाइँ गर्न खलोमा राखिएको धानको कुन्यूँमा अज्ञात समूहले आगजनी गरेको छ । दाइँ गर्न तयारीमा राखिएको स्थानीय लक्ष्मीराय यादवको धानको कुन्यूँमा शनिवार राति करिब ९ बजे आगजनी गरिएको हो ।आगलागीबाट झन्डै ४० क्विन्टल धान जलेर नष्ट भएको पीडितले जानकारी दिएका छन् । ईलाका प्रहरी कार्यालय लक्षमिनियाका प्रमुख इन्स्पेक्टर विजय कार्कीले घटनाबारे आवश्यक अनुसन्धान भइरहेको जानकारी दिनुभयो ।यता वडाध्यक्ष सञ्जय यादवले नेकपा एमालेका कार्यकर्ता यादवको धानको कुन्यूँमा राजनीतिक पूर्वाग्रहका कारण आगजनी भएको दाबी गर्नुभएको छ । राजनीतिक पूर्वाग्रहकै कारण गत वर्ष पनि वडा २ का एमाले सदस्य रामानन्द यादवको डेढ बिगाहाको धानको कन्यूँमा आगजनी गरिएको वडा अध्यक्ष यादवको जिकिर छ ।
एक वर्ष बितिसक्दा पनि उक्त घटनाका अभियुक्त हालसम्म पक्राउ परेका छैनन् । आगजनी गर्नेलाई पक्राउ गरी कारबाहीको दायरामा ल्याउन स्थानीयहरूले माग गरेका छन् ।

Leave a Reply