कृष्णउदास खनाल
निजगढ,रविराज दङ्गाल बारा जिल्लाको लागि नौलो नाम होइन । झण्डै एक दशदेखि निर्माणको अवस्थामा रहेको फाष्टट्याक र प्रस्तावित निजगढ अन्तर्राष्टिय विमानस्थलको चर्चा चल्ने गर्दा रविराज दङ्गालको नाम यस क्षेत्रका नागरिकहरुले लिने नै गर्दछ ।सामाजिक कार्यमा चर्चा कमाएका रविको चर्चा फेरि एकपटक चुलिएको छ । मंसिर २९ गते नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल(प्रचण्ड)को नातिनीको विवाह काठमाडौंको ठूलो होटलमा भएको भन्दै एकथरीले विरोध र आलोचना गरिरहेकै अवस्थामा त्यही प्रचण्डको पार्टीमा रहेर सामाजिक क्षेत्रमा क्रियाशील रहेका रविराजको पनि काठमाडौंको एक कुनामा नै विवाह भइरहेको थियो तर एकदमै फरक ढंगबाट । निजगढबाट थोरै संख्यामा जन्ती गएको र विवाह एकदमै साधारण तरिकाले सम्पन्न भएको जन्ती भएरजानु भएका पत्रकार महेश्वर अधिकारीले बताउनुभयो । उहाँले रबिको विवाह निकै साधारण र एकदमै सरल तरिकाले भएको बताउनुभयो । कयौं धार्मिक विधिहरु गोडा धुने, कन्यदान दिने भन्ने जस्ता कुराहरु नभइ सामान्य रुपमा भएको अधिकारीले सुनाउनुभयो ।सामान्यतया अघिलो दिन विवाह भएपछि भोलिपल्ट निकै तामझामका साथ भोजभतेर गर्ने चलन समाजमा पछिल्ला दिनमा बढेको छ तर रविले त्यो चलन पनि तोडिदिनु भएको छ । मंसिर २९ गते वा शुक्रवार विवाह गर्नुभएका रविले शनिवार कुनै तडकभडको भोज नगरी भोजमा हुने खर्च निजगढमा निर्माणको अवस्थामा रहेको मानव सेवा आश्रमलाई प्रदान गर्नु भएको छ । उहाँले एक लाख २५ हजारको चेक तथा केही आफ्ना आफन्तले जवरजस्ती दक्षिणामार्फत दिएको करिब सात हजार नगद पनि आश्रमलाई नै सहयोग गर्नु भएको छ ।टीकाटाला पूरै बन्द गरिएको भएपनि केही आफन्तले नमानेर दिएको सो रकम समेत आश्रमलाई सहयोग गरेको रविको भनाई छ । रविले विवाहमा लिएको नीति सबैले अंगिकार गर्न आवश्यक देखिएको बाराका निजगढका बुद्धीजिवीहरुको भनाई छ ।नेकपा माओवादीका प्रदेश कमिटीका सदस्य रहेका रवि, राजनीतिसंगै एक सामाजिक व्यक्तिको रुपमा पनि चिनिदै आउनु भएको छ । रविले आफ्नो विवाह निकै मितव्ययीका साथ सम्पन्न गरेर विवाहमा लाग्ने खर्चबाट आश्रमलाई सहयोग गरेर उदाहरणीय कार्य गरेको स्थानीयहरुले बताएका छन ।


















