कलैया,बाराको सिम्रौनगढ नगरपालिकामा प्रमुख प्रशासकीय अधिकृत महेशकुमार मिश्रलाई नियुक्ति गरिएको छ । संघीय मामिला तथा समान्य प्रशासन मन्त्रालयको शाखा अधिकृत उमेश दाहालद्वारा हस्ताक्षरित पत्रमा मिश्रलाई मंसिर २२ गते सिम्रौनगढ नगरपालिकामा नियुक्त गरिएको हो ।विगत एक वर्षदेखि बाराकै पचरौता नगरपालिकामा कार्यरत मिश्रलाई स्थानीय सरकार संचालन ऐन २०७४ को उपदफा ८४ को दफा ४ बमोजिम सिम्रौनगढ नगरपालिकामा कामकाजको लागि सरुवा गरिएको हो ।सिम्रौनगढको नगर सभा बैठक विवादित भएपछि नगरपालिकाको कामकाज ठप्प बन्दैआएको छ । नगरपालिकाका कर्मचारी, अस्पतालका स्वास्थ्यकर्मी र विद्यालयका शिक्षकहरुसमेत आन्दोलनमा छन ।यसैबीच तलब माग गर्दै धर्नामा बस्दैआएका सिम्रौनगढ नगरपालिकाका करार, अस्थायी, ज्यालादारी कर्मचारी र सामुदायिक विद्यालयका शिक्षकहरुले शुक्रवार सिम्रौनगढ बजारमा जुलुस प्रदर्शन गरेका छन ।शिक्षक संघ सिम्रौनगढ नगर अध्यक्ष उमाशंकरप्रसाद यादवको नेतृत्वमा निस्किएको सो जुलुसका सहभागीहरुले तलब भत्ता निकासा गर, शिक्षक र कर्मचारीहरुको नियुक्तिमा म्याद थपको नितिगत व्यवस्था गर, विद्यालयमा राजनीतिक हस्तक्षेप गर्न पाइदैनलगायतका नारा लगाएका थिए । सो जुलुस सिम्रौनगढ बजार परिक्रमापछि स्थानीय कंकाली मन्दिरको पुल चोक नजिक पुगेर कोण सभामा परिणत भएको थियो । सभामा शिक्षकहरु बृजकिशोरप्रसाद यादव, सुरेन्द्रप्रसाद यादव, बीरेन्द्र चौधरी, रामबाबु प्रसाद, राकेशप्रसाद यादव, दीपेन्द्र महतो, रिषवदेव ठाकुर लगायतले बोलेका थिए । शिक्षक संघ सिम्रौनगढ नगर अध्यक्ष उमाशन्कर प्रसाद्को अध्यक्षतामा भएको सो कोण सभाको सन्चालन शिक्षक सुरेश मुखियाले गर्नुभएको थियो ।लामो समयदेखि तलब भत्ता नपाएपछि नगरपालिका अन्तर्गतका शिक्षकहरु विद्यालयमा पठनपाठन ठप्प पारेर आन्दोलनमा उत्रेका छन । उनीले बुधवार नगरपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत जयनारायणप्रसाद यादवलाई नगरका सबै विद्यालयको साचोको झुप्पो बुझाएर आन्दोलनमा उत्रिएका हुन ।

Leave a Reply