कलैया,बाराको विश्रामपुर गाउँपालिकाबाट यस वर्ष गहुँको बीउ वितरणमा अनियमितता भएको छ ।गाउँपालिकाले वितरण गरेको गहुँको बीउमा सर्वसाधारण किसानलेभन्दा केही जनप्रतिनिधिहरुका आसेपासे, नेता र कार्यकर्तालाई बीउ वितरण गरिएको किसानहरुले आरोप लगाएका छन् । गत मङ्गलवार गापाले पाँचवटा वडामा १ सय २० जनाको दरले करीब ६ सयजनालाई १ सय १८ क्विन्टल (११ हजार ८ सय किलो) गहुँको बीउ वितरण गरेको थियो ।प्रतिकिलो ८० रुपैयाँको दरमा वितरण गरेको बीउ गाउँपालिकाले ५० प्रतिशत अनुदानमा वितरण गरेको हो । ८० रुपैयाको खरीदमा गापाले ४० रुपैया अनुदान दिएको थियो भने ४० रुपैया किसानले तिरेका थिए ।गहुँ वितरणको क्रममा वडा नम्बर १, २, ४, ५ मा विवाद नभएको तर वडा नम्बर ३ विश्रामपुर गाउँपालिका कार्यालयस्थलमा बीउ वितरणमा होहल्लासमेत भएको गाउँलेहरूले बताएकाछन । आसेपासेलाई ग्राह्यता दिन खोज्दा बीउ वितरणमा विवाद र झैंझगडा भएको बताइएको छ ।यस विषयमा कार्यालयका कर्मचारीले माग अत्यधिक र बीउ सीमित भएकोले विवाद सिर्जना भएको जनाएकाछन । गाउँपालिका कार्यपालिकाले अधिकतम २० किलोको दरले एउटा वडा १ सय २० जनाभन्दा बढीलाई बीउ वितरण गर्न नमिल्ने मापदण्ड बनाएकोमा वडा नम्बर ३ मा तीन सयभन्दा बढीको लाइन लागेपछि विवाद भएको थियो ।गाउँपालिकाका सूचना अधिकारी देव मण्डलका अनुसार वास्तविक किसानलाई मात्र बीउ वितरण गरिएकोले विवाद नगर्न आग्रह गर्नुभएको छ ।

Leave a Reply