निजगढ,नेकपा एमाले निजगढ नगर कमिटीले आगामी स्थानीय निर्वाचनमा मेयर पदको लागि ६ जनाको नाम जिल्ला कमिटीमा सिफारिस गरेको छ ।

नगर सचिवाल कमिटीको शुक्रवार बसेको बैठकले सुरथ पुरी, एकबहादुर श्रेष्ठ, अम्बिका चौलागाई, लिलादेबी लामिछाने, यमबहादुर खडका र दिलबहादुर लामाको नाम मेयर पदको लागि सिफारिस गरेको हो । पटकपटकको प्रयासपछि सर्वसम्मत नाम सिफारिस गर्ने प्रयास विफल बनेपछि मेयर र उपमेयर पदका सबै आकांक्षीहरुको नाम सिफारिस भएको हो ।
त्यसैगरी उपप्रमुख पदमा निजगढ एमालेले २ पुरुषसहित ९ जनाको नाम सिफारिस गरेर पठाएको छ । उपप्रमुखमा दुर्गा कोइराला, अन्जु नेपाली, शोभा राउत, मिरा पोखरेल, शर्मिला केसी, सरिता राई, सरिता सापकोटा, मुना थिङ्ग, तिलक घलान र गणेश लामाको नाम सिफारिस गरेको हो । वडा अध्यक्षको हकमा भने वडा नम्बर १ बाट उमेश गुरो, वडा नम्बर १० बाट आसाकाजी श्रेष्ठ, वडा नम्बर १२ बाट युवक मोक्तान र वडा नम्बर १३ बाट कमानसिंह लामाको एकल नाम सिफारिस गरेको नगर सचिव तिलक घलानले बताउनुभयो । अन्य वडामा भने वडा कमिटीबाट सिफारिस निर्णय भइ आएका नाम जस्ताको त्यस्तै जिल्ला कमिटीमा पठाएको पनि उहाँले जानकारी दिनुभयो । वडा नम्बर २ र ३ मा भने वडा अध्यक्षबाहेक वडा समितिका सबै सदस्य उम्मेदवारहरुको नाम सर्वसम्मत रुपमा पठाइएको पनि उहाँले जानकारी दिनुभयो ।
यसैबीच नेकपा एमालेबाट नेकपा एमाले निजगढ नगरपालिका वडा नम्बर २, ७, ८ १० र १२ नम्बर वडामा शुक्रवार चुनाव प्रचार सम्पर्क कार्यालय स्थापना गरेको छ ।
स्थानीय तहको निर्वाचन नजिकिएसंग एमालेले चुनाव प्रचारलाई व्यवस्थित पार्न सम्पर्क कार्यालय संचालनमा ल्याएको हो । वडा नम्बर २ सम्पर्क कार्यालयको एमाले जिल्ला कमिटी सदस्य केशव ढोडारीले गर्नुभएको थियो । सोही अवसरमा वडाका करिव ७० जना जेष्ठनागरिकको सम्मान पनि गरिएको थियो । कार्यक्रममा एमालेको तर्फबाट वडा अध्यक्ष पदका आकांक्षीहरुको उपस्थिति रहेको थियो । एमाले वडा नम्बर ७ सम्पर्क कार्यालयको भने मधेस प्रदेश सदस्य अम्बिका चौलगाईले उद्धाटन गर्नुभएको हो । पार्टी वडा कमिटी अध्यक्ष टेकबहादुर लामाको अध्यक्षतामा भएको सो कार्यक्रममा जिल्ला कमिटी सदस्य एंव निजगढ नगरपालिका उपप्रमुख लिलादेवी लामिछाने, वडा अध्यक्ष रामजी बजगाई, राष्ट्रिय बाणिज्य संघका केन्द्रीय सदस्य गोपाल लम्साल, हरि बर्तौला, पुराना कम्युनिष्ट नेता घनश्याम लम्साललगायतको उपस्थिति रहेको थियो । कार्यक्रमको संचालन गोविन्द बजगाईले गर्नुभएको थियो ।
त्यसैगरी वडा नम्बर ८ स्थापना गरिएको सम्पर्क कार्यालयको मधेस प्रदेश सदस्य सुदर्शन कोइरालालले गर्नुभएको थियो । प्रदेश कमिटी सदस्य दुर्गा कोइराला, जिल्ला कमिटी सदस्य राजकुमार पोखरेल, निजगढ नगर कमिटीका उपाध्यक्ष भोला प्रसादगौतम, सदस्य चम्पा परियार, नगर सचिवालय सदस्य सुदिप तिमल्सिना, राष्ट्रिय युवा संघका सदस्य इराज कोइराला, नगर कमिटी पूर्वसचिव विदुरलाल श्रेष्ठ, नगर कमिटी सल्लाहकार सदस्यहरु बासुदेव दाहाल, फाउँ प्रसाद चौलागाई, वडा कमिटी अध्यक्ष हरिमैया पोखरेल लगायतको उपस्थिती रहेको थियो । वडा कमिटी अध्यक्ष मुक्तिनाथ अधिकारीको अध्यक्षतामा सम्पन्न कार्यक्रमको संचालन नगर कमिटी सल्लाहाकार सदस्य फाउँ प्रसाद चौलागाई गर्नुभएको थियो । त्यसैगरी वडा नम्बर १० र १२ मा पनि एमालेले चुनाव प्रचार सम्पर्क कार्यालय संचालनमा ल्याएको छ ।



















