निजगढ,महाशिवरात्रीको अवसरमा बाराको निजगढ लगायत जिल्लाका विभिन्न शिवालयहरुमा बुधवार दर्शनार्थीहरुको घुइँचो लागेको छ ।निजगढ ९ स्थित बाक्यश्वर महादेव मन्दिर, निजगढ ४ को पर्वतनाथ, निजगढ ७ को सत्यश्वर शिवक्ति र निजगढ १३ को शक्तेश्वर महादेव मन्दिरलगायत जिल्लाका विभिन्न शिवालयहरुमा पूजापाठ र दर्शन गर्नेहरुको भिड लागेको हो । शिवालयहरुमा अन्य दिनको तुलनामा बुधवार बिहानदेखि नै भक्तजनहरुको भिड देखिएको थियो ।त्यसैगरी जिल्लाको चारकोसे झाडीस्थित जंगली बाबा सहजनाथमा पनि दर्शनार्थीहरुको बाक्लो उपस्थिति रहेको थियो । शिवरात्रीको अवसरमा सहजनाथ मन्दिरमा लागेको मेला भर्न र जल चढाउन नेपाल तथा भारतका हजारौं दर्शनार्थि सहभागी बनेका थिए । सिमरामा रहेको बाणलिङ्गेश्वर मन्दिरलगायतका शिव मन्दिरमा पनि बिहानदेखि नै दर्शन गर्ने श्रद्धालुहरुको भिड लागेको थियो ।

यस्तैे यता कलैया उपमहानगरपालिका वडा नम्बर ३ स्थित सिद्धेश्वरनाथ महादेव मन्दिरमा पनि दर्शन गर्न भक्तजनहरुको भिड लागेको थियो । मन्दिर परिसरमा रहेको शिव मन्दिरदेखि पार्वती मन्दिरसम्म पगडी बाँधेर मेला लागाइएको थियो । सो अवसरमा अखण्ड रुद्री पाठको साथै मन्दिरमा विशेष पूजा अर्चना गरिको सिद्धेश्वर संस्कृत विद्यालयका प्रधानाध्यापक ज्योतिष पण्डित छविरमण सुवेदीले जानकारी दिनुभयो । जिल्लाको सिम्रौनगढस्थित महादेव मन्दिर, ईनर्वा सिरामा रहेको शिव मन्दिर, ब्रहमपुरीमा रहेको शिव मन्दिर, लंगडा मठस्थित शिव मन्दिर लगायत जिल्लाका सयौं शिवालयहरु भक्तजनले भरिभराउ भएका थिए ।

यस्तै महाशिवरात्रिको अवसरमा वीरगञ्जका अधिकांश शिव मन्दिरहरूमा श्रद्धालुहरूको भिड लागेको थियो । वीरगञ्जको ऐतिहासिक तथा प्रसिद्ध अलखियामठ मन्दिर र पशुपतीनाथ मन्दिरमा बिहानैदेखि भक्तजनहरू लाइन लगेर पूजा गर्न आफ्नो पालो कुरिरहेका देखिन्थ्ये । त्यस्तै पर्सा जिल्लाका अन्य भेगमा रहेका शिव मन्दिरहरूमा पनि भक्तहरूको उपस्थिति उतिकै बाक्लो रहेको थियो ।विशेषतः पटेर्वासुगौली गाउँपालिकाको दुग्देश्वर माहादेव मन्दिरमा भक्तहरू बिहान सवेरैदेखि पूजा गर्न पुगेका थिए ।

जिराभवानीमाई मन्दिरमा विशेष मेला
राजन कुमार बानिया
पोखरिया,फागुन कृष्ण चतुर्दशीका दिन देशभर महाशिवरात्रि पर्व धुमधामसँग मनाइँदै गर्दा पर्सा जिल्लाको ऐतिहासिक जिराभवानीमाई बुधवार मन्दिरमा विशेष मेला लागेको छ ।भगवान् शिवको पूजा–आराधनाका लागि बिहानैदेखि श्रद्धालु भक्तजनको घुइँचो लागेको छ । विशेष गरी बाबा बटेश्वरनाथको दर्शन गर्न नेपालका विभिन्न स्थान तथा भारतको बिहार, बेतिया, सिकटा, ईनार्वा, नरकटिगन्ज, बनारसलगायत क्षेत्रबाट हजारौँ श्रद्धालु यहाँ आएका छन् ।

वैदिक सनातन हिन्दू परम्पराअनुसार भक्तजनहरू नदी, पोखरी तथा तलाउमा स्नान गरी श्रद्धाभक्तिपूर्वक पूजा–आराधनामा संलग्न छन् । शिव पुराणलगायत ग्रन्थहरूमा फागुन कृष्ण चतुर्दशीका दिन मनाइने शिवरात्रिलाई अत्यन्त पवित्र पर्वका रूपमा वर्णन गरिएको छ । यस दिन उपवास गरी रातभर जाग्राम बसे पुण्य प्राप्त हुने र यमलोक जानु नपर्ने धार्मिक मान्यता रहिआएको छ ।

जिराभवानी मन्दिरको उत्पत्तिका सम्बन्धमा प्राचीन किंवदन्ती रहेको छ । करिब ५०० वर्षअघि यो मन्दिर सामान्य मठका रूपमा रहेको थियो । सो समयमा सेढवा, महादेवपट्टी, पिपडाढी, परस्वा, जीतपुरलगायत गाउँहरू घना जंगलभित्र पर्दथे, जहाँ आदिवासी थारु समुदायको मात्र बसोबास थियो । एक दिन महादेवपट्टी निवासी बिशुन महतो चमरी खोलामा माछा मार्न जाँदा उहाँको जालमा माछाको सट्टा कालो ढुंगा परेको थियो । निराश भएर उहाँ ढुंगा खोला किनारमा फालेर घर फर्किनुभयो । राति सपनामा उक्त ढुंगा सामान्य नभई भगवान् शिवको लिंग थियो भन्ने देख्नुभयो र सोही स्थानमा मन्दिर निर्माण गर्नुपर्ने विचार गर्नुभएको थियो । भोलिपल्ट बिहान सो स्थानमा पुगेर खोजी गर्दा शिवलिंग भेटेपछि झुपडी बनाई पूजा गर्न थाल्नभएको थियो । समय बित्दै जाँदा यहाँ भक्तजनहरूको आगमन बढ्दै गयो र महाशिवरात्रिका अवसरमा मेला लाग्न थालेको हो ।

मठ स्थापनाको झन्डै ४५-५० वर्षपछि यहाँका स्थानीयले मन्दिर निर्माणका लागि चन्दा संकलन गरी डकर्मी (मिस्त्री) जिरालाई बोलाएर पक्की मन्दिर बनाउने काम गरेका थिए । तर निर्माण सम्पन्न भएसँगै जिरा मिस्त्रीको मृत्यु भएपछि भगवान् शिव रिसाएको विश्वास गर्दै स्थानीय समुदाय त्रसित भए ।त्यसपछि बुद्धिजीवीहरूको सल्लाहमा भवानी दुर्गाको मन्दिर स्थापना गरियो र मन्दिरलाई जिरा मिस्त्रीकै नामबाट ‘जिराभवानीमाई’ नामकरण गरियो त्यसयता शिवमन्दिरलाई ‘बाबा बटेश्वरनाथ’ नामले पनि चिनिन थालिएको हो ।यो मन्दिर स्थापना भएयता यस क्षेत्रमा आउने सम्भावित संकटहरूबाट जिराभवानीमाईले रक्षा गरिरहेको जनविश्वास रहिआएको छ ।वर्षभरि नेपालका विभिन्न जिल्लाका साथै भारतका बिहार र उत्तर प्रदेशबाट समेत श्रद्धालु यहाँ दर्शनका लागि आउने गरेका छन । स्थानीय किसानहरूले आफूले उत्पादन गर्ने धानको बालको केही अंशबाट झोटी बनाई महाशिवरात्रि मेलामा अर्पण गर्ने परम्परा छ ।

]यो मेलाबाट ग्रामीण किसानहरू कृषि तथा दैनिक उपभोग्य सामग्रीहरू खरिद गर्छन ्। कोदालो, बञ्चरो, हँसिया, हलोको फाली, हेङ्गाको डारर, खुर्पी, भाडाकुँडामा गाग्री, बाल्टिन, कराही, थाल, कुकरलगायत वस्तुहरूको यहाँबाट खरिद बिक्री हुने गरेकोछ । मेलाभित्रका बयर, कराही र कोदालो विशेष रूपमा लोकप्रिय रहेका छन ।यस ऐतिहासिक मन्दिरको नामबाट नै गाउँपालिकाको नाम ‘जिराभवानी’ राखिएको हो । मन्दिर परिसरमा करिब १० बिघा क्षेत्रफलमा फैलिएको बगैचा भए पनि यसलाई राष्ट्रियस्तरबाट संरक्षण गर्ने कुनै पहल गरिएको छैन । स्थानीय बासिन्दाहरूले चन्दा संकलन गरी यहाँ आधा दर्जनभन्दा बढी देवीदेवताका मन्दिर निर्माण गरिसकेका छन् भने पर्खाल, विवाह मण्डप, चौतारा, प्रतिक्षालयलगायत संरचनाहरू पनि बनाइएको छ । तत्कालीन जिल्ला विकास समितिले खुला दिसामुक्त क्षेत्र अभियानअन्तर्गत मन्दिर परिसरमा पाँचकोठे पक्की शौचालय पनि निर्माण गरेको छ ।संघीयता कार्यान्वयन भएसँगै मन्दिरको संरक्षणमा सुधार हुँदै गएको छ । स्थानीय र प्रदेश सरकारको पहलमा विभिन्न संरचनाहरू विकास गरिएका छन । मन्दिरको दीर्घकालीन संरक्षण तथा व्यवस्थापनका लागि गत वर्ष वैधानिक समिति समेत गठन गरिएको छ ।

Leave a Reply