कलैया,नेकपा एमाले बाराको ११औं जिल्ला अधिवेशन फाल्गुन महिनाको दोस्रो साता हुने भएको छ ।
कलैयास्थित पार्टी कार्यालयमा बुधवार बसेको एमाले जिल्ला कमिटीको बैठकले फाल्गनु १२ र १३ गते जिल्ला अधिवेशन गर्ने निर्णय गरेको हो ।बैठकले पार्टीले शुरु गरेको ‘झुलाघाट–चिवाभन्ज्याङ समृद्धिका लागि संकल्प यात्रा’ अभियान सफल बनाउन मंसिर २६ गते उदयपुरको घुर्मीमा हुने जनसभामा सहभागिता जनाउने निर्णय गरेको छ । बैठकमा मधेस प्रदेशको प्रथम अधिवेशनबाट निर्वाचित प्रदेश अध्यक्ष चन्देश्वर मण्डल, सचिव मनोज पौडेलसहित प्रदेश कमिटीका सदस्यहरुलाई सम्मान गरिएको थियो । एमाले मधेस प्रदेश कमिटीको जनकपुरमा गत असोज महिना सम्पन्न प्रथम प्रदेश अधिवेशनमा सचिव पौडेलसहित बारा जिल्लाबाट २९ जना सदस्य निर्वाचित भएका छन ।एमाले बाराका अध्यक्ष विनोद साहको अध्यक्षता र एमाले पोलिटव्युरो सदस्य पुरुषोत्तम पौडेलको प्रमुख आतिथ्यतामा सम्पन्न बैठकमा पोलिटव्युरो सदस्य एवम् बारा इन्चार्ज रामदयाल मण्डल, केन्द्रीय कमिटीका सदस्य बलवीर चौधरी, महमद समीर, मञ्जु थापामगर, सरस्वतीदेवी चौधरी, प्रदेश अध्यक्ष मण्डल, प्रदेश सचिव पौडेललगायतले मन्तव्य राखेका थिए । बैठकको सहजीकरण जिल्ला सचिव अध्यानन्द पाण्डेले गर्नुभएको थियो ।

















