वीरगन्ज,वीरगन्ज महानगरपालिकाका दुईवटा वडालाई सोमबार पूर्णखोप वडा घोषणा गरिएको छ । महानगरपालिकाको वडा नम्बर ८ र वडा नम्बर १३ लाई पूर्णखोप वडा घोषणा गरिएको हो । महानगरपालिकाका नगर प्रमुख विजयकुमार सरावगीले मंगलबार दुईवटा वडालाई पूर्ण खोप घोषणा गर्नुभएको हो ।

महानगरपालिकाको वडा नम्बर ८ मा १६ महिनादेखि ३० महिनासम्मका कूल ५७ जना बालबालिका मध्ये १२ जना बाँकी रहेकोमा उनीहरुलाई पनि सबै खोप लगाइएपछि पूर्णखोप वडा घोषणा गरिएको छ । त्यस्तै वडा नम्बर १३ का कूल १०९ बालबालिका मध्ये १५ महिना मुनिका बालबालिका सबै खोप लगाईसक्नु पर्नेमा ८० जनालाई मात्रै सबै खोप लगाइएको थियो । बाँकी रहेका २९ जनालाई पनि खोप अभियानका क्रममा पत्ता लगाएर खोप लगाएपछि पूर्ण खोप वडा घोषणा गरिएको छ । मंगलबार घोषणा गरिएको दुईवटा वडा सहित अहिलेसम्म महानगरपालिकाको १६ वटा वडा पूर्ण खोप भइसकेको वीरगन्ज महानगरपालिकाका स्वास्थ्य तथा सामाजिक विकास महाशाखा प्रमुख अरुणकुमार महतोले जानकारी दिनुभयो । महानगरपालिकाका प्राय सबै वडामा पूर्ण खोप लगाइसकिएको र क्रमशः पूर्ण खोप वडा घोषणा गर्दै जाने उहाँले बताउनुभयो । पूर्ण खोप युक्त वडा घोषणा गर्नका लागि आवश्यक मापदण्ड पूरा गरि वडाका सबै बालबालिकाहरुलाई खोप दिएपछि पूर्ण खोप घोषणा गरिएको हो ।

वडा नम्बर ८ का वडा अध्यक्ष राजकिशोर गुप्ताको अध्यक्षतामा र वडा नम्बर १३ मा वडा अध्यक्ष तुफान अन्सारीको अध्यक्षतामा भएको कार्यक्रममा महानगरपालिकाकाका नगर प्रमुख सरावगीले पूर्ण खोप घाषणा गर्नुभएको हो । यस्तै नगर स्तरीय बजेटमा निर्माण गरिएको वडा नम्बर ८ को स्वास्थ्य चौकी भवनको समेत नगर प्रमुख सरावगीले उद्घाटन गर्नुभएको छ । असार १५ गतेसम्ममा महानगरका सबै वडालाई पूर्ण खोप वडा घोषणा गर्ने गरी तयारी गरिएको महानगरका स्वास्थ्यकर्मी रितेश जयसवालले बताउनुभयो ।

Leave a Reply