वीरगञ्ज,वीरगञ्ज महानगरपालिका– १७ अलौँको सिवान टोलमा लागेको महावीर झन्डा मेलामा प्रहरीले ज्यादति गरेको स्थानीयहरूले आरोप लगाएका छन् । मेलामा शनिवार राति शान्तिपूर्ण तरिकाले नृत्य गरिरहे पनि प्रहरीले अवरोध सृजना गर्दै लाठी चार्ज गरेको स्थानीयहरूले बताएका हुन ।प्रहरीले ज्यादति गरेको भन्दै आइतवार अलौँका स्थानीयले गाउँको हनुमान मन्दिर अगाडिको चोकमा प्रदर्शन समेत गरेका थिए । उनीहरूले टायर बालेर प्रहरी र प्रशासनविरुद्ध नाराबाजी गरेका हुन ।मेलामा नाच नचाउने विषयमा दर्शक र नेपाली सुरक्षाकर्मीबिच विवाद भएको स्थानीयको भनाई छ । विवाद झडपमा परिणत भएपछि एक जना सर्वसाधारणसहित केही सुरक्षाकर्मी समेत घाइते भएका थिए । प्रहरीले राती ११ बजेपछि नृत्य गर्न नपाइनेभन्दै अवरोध गरेको थियो । यद्यपि स्थानीयले कार्यक्रम जारी राखेपछि प्रहरी राति साढे १२ बजेपछि जिल्ला प्रहरी कार्यालय पर्साबाट थप बल मगाएर दर्शकहरूमाथि लाठीचार्ज गरेको थियो ।प्रहरीको लाठीचार्जपछि केहीबेरको लागि अवस्था तनावग्रस्त समेत भएको थियो । नेपालको सिवानटोल र भारतीय सीमावर्ती गाउँ हरैयाका स्थानीयवासीले प्रहरीमाथि ढुङ्गा प्रहार गरेपछि केही सुरक्षाकर्मी समेत घाइते भएको प्रहरीले जनाएको छ ।झडपमा प्रहरी चौकी श्रीसियाका सहायक प्रहरी हवलदार सुबोध कुमार यादव, प्रहरी जवान द्वय सुभाष चौधरी, रोशन सिंहल घाइते भएको बुझिएको छ । प्रहरीले भीडलाई तितरबितर पार्न ३ राउन्ड अश्रुग्याँस र १ थान रबरको गोली प्रहार गरेको जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता एवम् प्रहरी नायव उपरीक्षक (डिएसपी) कुमार विक्रम थापाले जानकारी दिनुभयो ।घटनामा हरैयाका १७ वर्षीय युवक राजनकुमार समेत घाइते भएका छन् । उनको बायाँ खुट्टामा गम्भीर चोट लागेर डंकन अस्पतालमा उपचार भइरहेका छ । घाइते परिवारजनका अनुसार प्रहरीको गोलीको छर्रा लागेर राजन घाइते भएका थिए ।प्रत्येक वर्ष छठ पर्वको १५ दिन पश्चात् नेपालको शिवानटोला र भारतको हरैया गाउँका स्थानीयको संयुक्त सहमतिमा मेला समिति चयन गरेर महाबिरी झन्डा मेलामा आयोजना हुँदै आएको छ ।शनिवारको महाबिरी झन्डा मेलामा भारत बिहार मझौलियाका चर्चित कलाकारसहितको नृत्य टोली ल्याइएको थियो । वर्ष पहिलादेखि रातिको समयमा नै मेला लाग्ने र नृत्यसमेत हुदैआए पनि यस वर्ष प्रहरीले अवरोध गरेपछि विवाद भएको स्थानीयहरूको भनाई छ ।

Leave a Reply