कृष्णउदास खनाल
बागमती (मकवानपुर),मकवानपुरको बागमती गाउँपालिकामा गएको हप्ता संचालित निःशुल्क आँखा शिविरबाट भेटिएका मोतियाबिन्दुका बिरामीहरुको गाउँपालिकाको चांदोपांदोमा निःशुल्क शल्यक्रिया भएपछि स्थानीय हर्षित भएका छन् ।
तीलगंगा आँखा प्रतिष्ठान, हेटौंडा सामुदायिक आँखा अस्पताल तथा बागमती गाउँपालिकाको समन्वयमा आँखा शिविरमा भेटिएका बिरामीहरुको बागमती गाउपालिका वडा नम्बर ४ स्थित महाबुद्ध आधारभूत विद्यालय परिसरमा शुक्रबार, शनिबार र आइतबार तीन दिनमा दुई सय एकजनाको आँखाको शल्यक्रिया गरिएको बागमती गाउँपालिकाको स्वास्थ्य शाखाले जानकारी दिएको छ ।घरआँगनमा नै निःशुल्क रुपमा आँखाको शल्यक्रिया गर्न पाउदा स्थानीयहरु भने निकै खुसी भएको बागमती गाउँपालिकाका अध्यक्ष सर्केश घलानले बताउनुभयो । उहाँले स्थानीयहरुको भावनालाई ध्यानमा नै राखेर आँखा शिविरको आयोजना गरिएको जानकारी दिनुभयो ।आँखा शिविरबाट भने विशेष गरी ज्येष्ठ नागरिकहरु बढी लाभान्भित भएको बागमती गाउँपालिका वडा नम्बर ३ का वडा अध्यक्ष कमान सिं पाख्रिनले बताउनुभयो । आफ्नै घरआँगनमा आँखा परीक्षण गरेर, लाभ लिन पाउदा आफूहरु निकै खुसी भएको स्थानीयहरुले बताएका छन् ।आँखा शिविरबाट बागमती गाउँपालिका सहित आसपासका दुई सय पचास बढी स्थानीयहरुले सेवा लिएका थिए ।

Leave a Reply