कलैया,काठमाडौंमा आइतबारदेखि सुरु हुन लागेको नेपाली कांग्रेसको दोस्रो विशेष महाधिवेशनमा सहभागिता जनाउन बारा जिल्लाबाट ६० प्रतिशत भन्दा बढी महाधिवेशन प्रतिनिधि काठमाडौं प्रस्थान गरेका छन् ।
बारामा कांग्रेसका कूल १०४ जना महाधिवेशन प्रतिनिधि मध्ये ६० प्रतिशत भन्दा बढी विशेष महाधिवेशनको पक्षमा खुलेका छन ।केहि महाधिवेशन प्रतिनिधिहरु यसअघि नै काठमाडौं पुगिसकेकोमा शनिबार भने जिल्ला सचिव राजेश रौनियारको अगुवाईमा महाधिवेशन प्रतिनिधिहरु बाराको कलैयामा भेला भई काठमाडौंका लागि प्रस्थान गरेका हुन् ।
यसअघि शुक्रबार कांग्रेस जिल्ला सभापति राजेश राय यादवले विशेष महाधिवेशनमा सहभागी नहुन भन्दै विज्ञप्ति जारी गरेर प्रतिनिधिहरुलाई रोक्ने प्रयास गर्नुुभएको थियो । विशेष महाधिवेशनको पक्षमा रहेका महाधिवेशन प्रतिनिधिहरुलाई विभिन्न माध्यमबाट दबाब दिएर सभापती यादवले रोक्न गरेको प्रयासका बाबजुद पनि प्रतिनिधिहरु काठमाण्डौंतर्फ लागेको जिल्ला सचिव रौनियारले बताउनुभयो । यसअघि शुक्रवार नै जिल्ला कार्यसमितिका सचिव रौनियार र भैयाराम यादवले पनि विज्ञप्ति निकालेर जिल्लामा रहेका प्रतिनिधिहरुलाई विशेष महाधिवेदनमा सहभागी हुन आग्रह गर्नुभएको थियो ।तर जिल्ला सभापपति यादवको ह्वीप र दबाबलाई समेत अस्वीकार गर्दै नेतृत्व परिवर्तन र पार्टी रुपान्तरणको पक्षमा रहेका जिल्लाका अधिकांश महाधिवेशन प्रतिनिधिहरु काठमाडौं हिडेको जिल्ला सचिव रौनियारले जानकारी दिनुभयो ।विशेष महाधिवेशनको पक्षमा अझै महाधिवेशन प्रतिनिधिहरु थपिने र उनीहरु पनि आइतबार बिहानसम्म काठमाडौं पुग्ने दाबी उहाँले गर्नुभएको छ ।
बाराका हस्ताक्षरकर्ताको नाम हटाउन माग
कलैया,नेपाली काँग्रेस बाराले विशेष महाधिवेशनको लागि बुझाएको पत्रमा हस्ताक्षर गर्ने दुई जनाको नाम हटाउन माग गरेको छ ।नेपाली कांग्रेस बाराका कार्यालय सचिव अम्बिकाप्रसाद यादवले एक प्रेस विज्ञप्ति जारी गरी उनीहरुको नाम हस्ताक्षर गर्नेहरुको सूचिबाट हटाउन माग गर्नुभएको हो । विज्ञप्तिमा शरदचन्द्र भट्टराई र वीरेन्द्रप्रसाद यादवको नाम हटाउन भनिएको हो ।विज्ञप्तिमा “विशेष महाधिवेशन“ को लागि बुझाइएको हस्ताक्षरमा उनीहरुको नाम र तिनको हस्ताक्षर समेत रहेको जानकारीमा आएको उल्लेख गरिएको छ । ती व्यक्तिहरु हाल अर्को पार्टीमा सक्रिय रहेको र नेपाली काँग्रेस महाधिवेशन प्रतिनिधि पदमा नरहेको जानकारी गराइएको छ । उनीहरुको नाम र हस्ताक्षर हटाउन विज्ञप्तिमा अनुरोध गरिएको छ ।
बारा क्षेत्र नम्बर ३ बाट महाधिवेशन प्रतिनिधि बन्नुभएका भट्टराई रास्वपामा प्रवेश गरेको र यादव स्वतन्त्र रुपमा प्रदेश सभा सदस्यको उम्मेदवार बनेकाले नाम हटाउन विज्ञप्तिमा यादवले अनुरोध गर्नुभएको हो ।

















