निजगढ,निजगढको शहिदचोकस्थित लक्ष्मीनारायण मन्दिरको जमिनमा निर्माण हुने भनिएको धर्मशाला निर्माणमा अनियमिता भएको भन्दै छानबिन गर्न समिति गठन गरिएको छ ।मन्दिर प्राङ्गणमा आइतवार भएको सरोकारवालाहरुको भेलाले १५ दिनभित्र प्रतिवेदन बुझाउने गरी छानबिन समिति गठन गर्नेसहित मन्दिर र धर्मशाला निर्माण तथा जमिन दाता स्थानीय सिता चौलागाईको भरोण पोषणसंग सम्बन्धित विषयमा छानबिन गर्न निजगढ नगरपालिका वडा नम्बर ९ का वडा अध्यक्ष रामचन्द्र कटुवालको संयोजकत्वमा समिति गठन भएको हो । समितिले आगामी १५ दिनभित्र प्रतिवेदन बुझाउनुपर्ने बताइएको छ ।स्थानीय दाता सीता चौलागाईले लक्ष्मी नारायण मन्दिर निर्माण गर्न भनेर दान गरेको निजगढको मुख्य चोक शहिद चोकको राजमार्गसंग जोडिएको ५ कठ्ठा जमिनमा मधेस प्रदेश सरकार र निजगढ नगरपालिका कार्यालयको ५० लाख रुपैयाभन्दा बढी रकम सहयोग गरेको र सोको हिसाव किताब पारदर्शी नभएको भन्दै स्थानीयले उजुरी गरेपछि वडा नम्बर ९ को कार्यालयले भेलाको आयोजना गरेको हो ।करोडौं मूल्यको जमिन दान गर्ने दाता सीता चौलागाईको दैनिक गुजारासमेत संकटमा परेको र उहाँको सुरक्षाको बारेमा समितिले चासो नदेखाएको भन्दै भेलाका सहभागीहरुले उचित व्यवस्थापनको मागसमेत गरेका थिए । मन्दिरको लागि दान प्राप्त भएको जमिनमा धर्मशाला निर्माण गर्न भनेर धर्मशाला निर्माण उपभोक्ता समितिले मधेस प्रदेश सरकारबाट रकम निकासा गरेर ल्याइएको र सो भवन हाल व्यापारिक प्रयोजनमा भाडामा दिइएको भन्दै भेलाका सहभागीहरुले विरोध जनाएका हुन ।भेलामा मधेस प्रदेश सभा सदस्य मिना लामा, निजगढ नगरपालिकाका पूर्वप्रमुख सुरेश खनाल, जग्गा दाता सिता चौलागाई, वडा अध्यक्ष कटुवाल, धर्मशाला निर्माण उपभोक्ता समितिका अध्यक्ष हिराबहादुर तिमल्सिना, पूर्वअध्यक्ष जयराम दवाडी, स्थानीय समाजसेवी सावित्री भारती, नेकपा एमाले निजगढ नगर उपाध्यक्ष भोलाप्रसाद गौतम, नेपाली कांग्रेस निजगढ नगर सभापती नवराज तिमल्सिना, नेकपा माओवादी केन्द्रका नगर अध्यक्ष सन्तोष दङ्गाल, राप्रपाका खडगप्रसाद उप्रेती, नेकपा एकीकृत समाजवादी पार्टीका भिमसेन सापकोटा, जनमत पार्टीका मोजहर मन्सुर, सागर थोकर, राप्रपा नेपालका शिव तिमल्सिनालगायतले बोल्नुभएको थियो ।


















