रौतहट,मधेश प्रदेश संचार सम्मेलन बुधवार रौतहटको चन्द्रपुरमा सम्पन्न भएको छ ।सम्मेलनको उद्घाटन गर्दै मधेश प्रदेश सरकारका मुख्यमन्त्री सरोजकुमार यादवले मधेस प्रदेशको विकासको लागि भ्रष्टाचार नियन्त्रण गर्न जरुरी रहेको बताउनुभयो । चन्द्रपुरस्थित होटेल अशोकामा आयोजित सम्मेलनलाई संम्वोधन गर्दै मुख्यमन्त्री यादवले सो कुरा बताउनुभएको हो ।संचारकर्मी र संचारमाध्यमका लागि हित हुने गरि प्रदेश संचार ऐन संशोधन गरिने उहाँले बताउनुभयो । ऐन तथा कानुन पनि निर्माणमा प्रदेश सरकार लागि परेको मुख्यमन्त्री यादवको भनाइ थियो ।पत्रकारका समस्या आफुले बुझेको जनाउँदै मुख्यमन्त्री यादवले प्रदेशमा संचारकर्मीलाई सहयोग गर्न अक्षय कोषका लागि एक करोड पच्चीस लाख आगामी आर्थिक वर्षमा उपलब्ध गराउने गरि व्यवस्था मिलाउने प्रतिवद्धतासमेत व्यक्त गर्नुभयो । मुख्यमंत्री यादवले पत्रकारले सत्यका आधारमा समाचार लेख्नुपर्नेमा जोड दिनुभयो ।उहाँले नैतिकताको कुरा पत्रकारको लागि महत्वपूर्ण हुने चर्चा गर्दै मधेस प्रदेशकम नैतिक शिक्षाको अध्यापनको व्यवस्था मिलाउने समेत बताउनुभयो ।कार्यक्रममा नेपाल पत्रकार महासंघका पूर्वकेन्द्रीय अध्यक्ष तारानाथ दाहालले नेपालमा हालसम्म निर्माण भएको कानूनका विषयमा चर्चा गर्नुभएको थियो । दाहालले प्रदेश कानुन र त्यसमा रहेका असंगत प्रावधानहरुको बारेमा जानकारी गराउनुभएको थियो । उहाँले प्रदेशले कानुन निर्माण गरेर राम्रो गरेको बताउदै कमी कमजोरीहरुलाई संशोधनमार्फत सुधार गर्न सुझाव दिनुभएको छ । उहाँले संशोधन गर्न आवश्यक प्रावधानहरुको बिवेचना सहितको सुझाव प्रतिवेदन मधेस प्रदेशका मुख्यमन्त्री यादवलाई हस्तान्तरण गर्नुभएको थियो ।कार्यक्रममा रौतहट क्षेत्र नं. ४ का संघीय सांसद देवप्रसाद तिमल्सिना, प्रदेश सांसद युवराज भट्टराई, कनिस पटेल बिभिन्न नगरपालिकाका नगर प्रमुख लगायत विभिन्न दलका प्रतिनिधिहरुले धारणा राख्नुभएको थियो ।सम्मेलनमा पत्रकार पेशालाई मर्यादित बनाउनेतर्फ ध्यान दिन वक्ताहरुले जोड दिएका छन ।नेपाल पत्रकार महासंघ मधेस प्रदेश तथा रौतहट शाखाको समन्वयमा आयोजनामा भएको उक्त कार्यक्रममा प्रदेशका ८ वटै जिल्लाका अध्यक्ष तथा २ पत्रकार महिलासहित ६÷६ जनाको सहभागिता रहेको थियो ।कार्यक्रममा चन्द्रपुर नगरपालिकाका प्रमुख सन्जय काफ्ले, नेपाल पत्रकार महासंघका केन्द्रीय सचिव दीपेन्द्र चौहान, केन्द्रीय सदस्यद्वय शिवपुरी, केसी.लामिछाने, मधेस प्रदेश अध्यक्ष राजेश कर्ण, महासचिव श्याम बन्जरा, प्रेस चौतारीका मधेश प्रदेश अध्यक्ष फणि महत, प्रेस मंचका मधेशका महासचिव बन्दना झा, नेपाल प्रेस युनियनका केन्द्रीय सदस्य संजय कार्की, नेपाल पत्रकार महासंघ धनुषाका अध्यक्ष मनिका झा लगायतले आफनो मन्तव्य राखेका थिए ।कार्यक्रममा लामो समयदेखि पत्रकारि।ता गर्दै आएका मधेसका ८ जना बरिष्ठ पत्रकारलाई “मधेश पत्रकारिता सम्मान” बाट सम्मानित गरिएको थियो । सम्मानित हुनेमा पर्साका लालबाबु शेख, बाराका गम्भिरा सहनी, रौतहटका शिवपुरी, सर्लाहीका शंकर श्रेष्ठ, महोत्तरीका दशरथ भण्डारी, धनुषाका बि.एम.खनाल, सिराहका दिनेश्वर गुप्ता र सप्तरीका ब्यासशंकार उपाध्याय रहेका छन ।त्यसैगरी नेपाल पत्रकार महासंघका केन्द्रीय सचिव दीपेन्द्र चौहान, केन्द्रीय सदस्य केसी.लामिछानेलाई पनि महासंघको संस्थागत विकासमा पु¥याएको योगदानको कदर गर्दै सम्मानित गरिएको थियो ।यसअघि बिश्व प्रेस स्वतन्त्रता दिवसको अवसरमा चन्द्रपुर बजारमा बिहान नेपाल पत्रकार रौतहट शाखाको आयोजनामा प्रभातफेरि कार्यक्रम आयोजना गरिएको थियो । कोणसभालाई सम्बोधन गर्दै नेपाल पत्रकार महासंघका पूर्वअध्यक्ष तारानाथ दाहालले प्रेस स्वतन्त्रता दिवसको अवसरमा सम्पुर्ण श्रमजीवी पत्रकारहरुलाई शुभकामना दिदै विश्व प्रेस स्वतन्त्रता कायम भएदेखि हालसम्मको अवस्था बारे जानकारी दिनुभएको थियो ।पूर्वअध्यक्ष दहालले आफ्नो कार्यक्षेत्र अन्तर्गत सक्रिय भइ कार्यरत हुँदाको समयमा पक्राउ परि कारागारमा बन्धक बनाइएका पत्रकारहरुलाई रिहाइको लागि पहल गर्ने र पत्रकारितामा विश्वसनीयता सबैभन्दा महत्वपूर्ण कुरा हुने भएकोले यस क्षेत्रमा कहिले काँही सत्य लुक्ने तथा तथ्य छुट्ने जस्ता समस्या देखा परेको हुँदा यस्ता विषयमा विशेष रुपले ध्यान दिएर कार्यक्षेत्रमा अगाडि बढन आग्रह गर्नुभयो । कार्यक्रम रौतहट शाखाका अध्यक्ष प्रेमचन्द्र झाको अध्यक्षतामा सम्पन्न भएको थियो ।

















