काठमाण्डौ – प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले सत्तारूढ गठबन्धनले सरकार छोड्नुपर्ने बताउनुभएको छ । देशलाई प्रतिगमनतर्फ जानका लागि अनुकूल वातावरण बनाएकाले सत्तारूढ गठबन्धनले सरकार छोडनुपर्ने ओलीको जिकिर थियो ।बुधवार पार्टी मुख्यालय च्यासलमा आयोजित केन्द्रीय कमिटी बैठकमा अध्यक्ष ओलीले सरकारले प्रतिगामी शक्तिहरूलाई हौसला प्रदान गर्ने नालायकीपन देखाइरहेको उल्लेख गर्दै आफ्नो पार्टीलाई त्यस्ता खालका गतिविधि स्वीकार्य नहुने चेतावनी दिनुभयो । उहाँले वर्तमान सरकारले देशको अर्थतन्त्रलाई सकारात्मक बाटोमा फर्काउने सम्भावना नरहेको दाबी पनि गर्नुभयो ।ओलीले भन्नुभयो, ‘अहिलेको सरकारले देशलाई प्रतिगमनतर्फ जानका लागि अनुकूल वातावरण सृजना गर्ने र प्रतिगामी शक्तिहरूलाई हौसला प्रदान गर्ने काम गरेको छ । त्यो नालायकी स्वीकार्य हुन सक्दैन, कि उपयुक्त ढङ्गले सरकार चलाउनुपर्छ । होइन भने सरकार छोड्नुपर्छ । वास्तवमा देश अप्ठेरो स्थितिमा छ । यो अवस्थामा पु¥याउने यही गठबन्धन सरकार हो । यो गठबन्धन सरकारले अर्थतन्त्रलाई सकारात्मक बाटोमा फर्काउन सक्ने सम्भावना छैन ।’अध्यक्ष ओलीले सत्तारूढ गठबन्धनको सत्ता स्वार्थका कारण देशको स्वाधीनता सबैभन्दा अपहेलित, अपमानित र तिरस्कृत हुने पुगेको दाबी गर्नुभयो । वर्तमान सरकारले देशको असंलग्नता र तटस्थतासम्बन्धी परराष्ट्र नीति पनि धरापमा पारेको उहाँको आरोप थियो ।ओलीले वामपन्थी एकतामा भन्दा एमालेलाई सुदृढ राष्ट्रिय शक्ति बनाउने काममा केन्द्रित हुन पार्टीका नेता, कार्यकर्तालाई सचेत पनि गराउनुभएको थियो ।

Leave a Reply