वीरगन्ज,पर्साको बहुदरमाइ नगरपालिकामा नेकपा एमालेबाट नगरप्रमुखका उम्मेदवार शिव पटेलले नगरपालिकाका निवर्तमान मेयर र वडा अध्यक्षहरुले मतदातालाई प्रभावित पार्न रकमको चलखेल गरिरहेको आरोप लगाउनुभएको छ ।
नेपाल पत्रकार महासंघको सभाहलमा सोमवार पत्रकार सम्मेलनको आयोजना गर्दै नेकपा एमालेबाट मेयरका उम्मेदवार पटेलले रकम बाढेर मतदातालाई प्रभावित पानए खोज्नेलाई कारबाही नगरेर स्थानीय प्रशासन र निर्वाचन आयोग मुकदर्शक बनेको बताउनुभयो ।
निर्वाचन आचारसंहिताका खुलेयाम रुपमा उलंघन भइरहेको बताउँदै पटेलले रकमको चलखेलको जनताले प्रतिवाद गर्न खोज्दा विवाद र झडप हुँदासम्म पनि प्रहरी प्रशासन र निर्वाचन कार्यालय मुकदर्शक बनेको टिप्पणी गर्नुभएको छ ।
विपक्षी दलका उम्मेदवारहरुले गलत हर्कत र गतिविधि गर्दै आएको हुँदा अब केही दिन मात्रै बाँकी रहँदा निर्वाचन कार्यालय र प्रहरी प्रशासनलाई निगरानी राख्न उहाँले आग्रह गर्नुभएको छ ।
पैँसाको बलमा फेरी चुनाव जित्छौ भन्ने दावी गर्नेहरुले नै रकम बाँड्दै मतदातालाई प्रभावित पार्न खोजीरहेको पटेलको भनाइ छ ।
गत शुक्रवार मात्रै बहुदरमाई नगरपालिका वडा नम्बर २ सिसियाडीमा निर्वतमान वडाअध्यक्ष सँगै निवर्तमान मेयरसमेत रहेका कांग्रेसबाट मेयरका उम्मेदवार नितेन्द्र साहले एउटा घरमा बसेर रकमको चलखेल गर्न खोज्दा स्थानीयले घेरा हालेर विवाद भएको उहाँले बताउनुभयो ।
आइतबार राति पनि वडा नम्बर ९ विश्रामपुरमा निवर्तमान मेयरसमेत रहेका कांग्रेसका मेयर उम्मेदवार नितेन्द्र साहले एउटा घरमा बसेर रकमको चलखेल गर्न खोज्दा स्थानीयले घेरा हालेर प्रतिवाद गरेको र त्यसक्रममा एक जनाको हात पनि भाँचिएको पटेलले बताउनुभयो । बैशाख २७ गते रातिदेखि मौन अवधि सुरु हुने र त्यो अवधिमा पैसाको चलखेल झन धेरै हुने सम्भावना देखिएको भन्दै पटेलले भन्नुभयो, ‘प्रहरी प्रशासनलाई म आग्रह गर्छु, अबको ४ दिन जोगाइ दिनुस् नत्र अवस्था झन भयावह पनि हुन सक्छ । उहाँले निर्वाचन स्वच्छ र निष्पक्ष बनाइ दिन निर्वाचन कार्यालय र प्रहरी प्रशासनसंग आग्रह पनि गर्नुभएको छ ।