वीरगञ्ज,फैसला कार्यान्वयन विशेष अभियानअन्तर्गत पर्सा प्रहरीले विभिन्न मुद्दामा संलग्न भई फरार रहेका १२ जना प्रतिवादीलाई पक्राउ गरी अदालतमा पेस गरेको छ ।जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता प्रहरी नायब उपरीक्षक (डिएसपी) किशोर लम्सालका अनुसार, २०८१ माघ १९ देखि २० गतेसम्म कैद तथा जरिवाना तोकिएका प्रतिवादीहरूलाई विशेष प्रहरी टोलीले पक्राउ गरेको हो ।
पर्सा जिल्ला अदालतबाट विभिन्न मितिमा भएका फैसलाहरू कार्यान्वयन गर्ने क्रममा प्रतिवादीहरू पक्राउ परेको डिएसपी लम्सालले बताउनुभयो । फरार रहेका व्यक्तिहरूलाई खोजी गर्दै प्रहरीले अभियान तीव्र बनाएको थियो । पक्राउ परेका सबैलाई २०८१ माघ २० गते अदालतमा पेस गरिएको छ ।
प्रहरीले फैसला कार्यान्वयनको क्रममा कानुनी प्रक्रियालाई मजबुत बनाउन निरन्तर प्रयास गरिरहेको जनाएको छ । फरार प्रतिवादीहरूलाई कानुनी दायरामा ल्याउन आगामी दिनहरूमा समेत निगरानी र खोजी अभियानलाई अझ प्रभावकारी बनाइने प्रहरीको डिएसपी लम्सालको भनाई छ ।
यस क्रममा स्थानीय प्रहरी तथा मातहतका निकायहरूले समन्वय गर्दै फैसला कार्यान्वयन विशेष टोली परिचालन गरेका थिए । अदालतका फैसलाहरू कार्यान्वयन नहुँदा कानुनी शासन प्रभावकारी बन्न नसक्ने भएकाले यस अभियानले न्याय सम्पादनलाई बल पु¥याउने विश्वास गरिएको छ ।प्रहरीले आम नागरिकलाई कानुनी प्रक्रियामा सहकार्य गर्न आग्रह गर्दै, फरार प्रतिवादीहरूको सूचना दिएर अपराध नियन्त्रणमा सहयोग गर्न अपिल गरेको छ ।



















