वीरगञ्ज,नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले भगवान् रामको वास्तविक जन्मभूमि पर्साको ठोरी नै भएको बताउनुभएको छ ।पर्साको पोखरिया नगरपालिकामा आयोजित आम सभा तथा बृहत् पार्टी प्रवेश कार्यक्रमलाई सम्बोधन गर्दै एमाले अध्यक्ष एवंम पूर्वप्रधानमन्त्री ओलीले मङ्गलवार सो कुरा बताउनुभएको हो ।‘अहिले भारतले राम मन्दिर बनाइरहेको अयोध्या भगवान् रामको जन्मभूमि हुँदै होइन, उहाँले भन्नुभयो, अयोध्या डेढ सय वर्ष पहिलेसम्म फैजलावाद थियो । वास्तविक राम जन्मभूमि त नेपालको ठोरी हो भन्ने कुरा धर्मशास्त्रमै उल्लेख छ ।’त्यस्तै उहाँले २०८४ को निर्वाचन पश्चात् एमालेले एकल बहुमतको सरकार बनाउने दाबी गर्नुभएको छ । पार्टीले अहिले देशव्यापी सङ्गठन विस्तारको अभियान चलाइरहेको भन्दै २०८४ को चुनावमा एमालेको एकल बहुमतको सरकार बन्ने दाबी गर्नुभएको हो । उहाँले भन्नुभयो, ‘आउँदो चुनावमा एमालेलाई कुनै पनि शक्तिले हराउन नसक्ने गरी सङ्गठनलाई मजबुत बनाइरहेका छौँ । हामी मिसन २०८४ मा लागेका छौँ । एमालेको एकल बहुमतको सरकार बन्ने निश्चित छ ।’ओलीले एमाले बाहेक कुनै पनि पार्टीले देशलाई समृद्ध बनाउन नसक्ने पनि बताउनुभयो । देशलाई अहिलेको बेथिति र विसङ्गतिबाट मुक्ति दिलाउन एमाले सरकारको विकल्प नै नभएको उहाँले जिकिर गर्नुभयो ।एमालेले आफ्नो नेतृत्वको सरकारमा छिमेकी मुलुकहरूसँग दबिएर होइन समान हैसियत बनाएर अगाडि बढ्ने नीति लिने उहाँले बताउनुभयो । मुलुकमा अहिलेको गठबन्धनको सरकारका कारण चरम बेथिति, भ्रष्टाचार र आर्थिक मन्दी बढ्दै गएकाले यस्ता समस्याबाट देशलाई बाहिर निकाल्न मुलुकमा एमाले नेतृत्वको सरकार आवश्यक भएको उहाँको भनाई थियो ।मेडिकल व्यवसायी दुर्गा प्रसाईँलाई नयाँ तत्वको शिखण्डीको संज्ञा दिँदै उहाँले अहिले देशमा केही नयाँ तत्वहरू उफ्रिइरहेका छन्, भन्नुभयो । गठबन्धनको सरकारको बेथितिका कारण नै त्यस्ता शिखण्डीहरु मौलाएको पनि उहाँको भनाई थियो । ‘तर एमालेले त्यस्तालाई गन्दा पनि गन्दैन । कुनै मतलब पनि राख्दैन । किनकि एमाले सिसाको गिलास होइन जुन कतै ठोकियो भने पिटिक्कै फुटी हाल्ने । एमाले त्यस्तो इस्पात हो जुन घनले हान्दा पनि टसमस हुँदैन । त्यसैले अहिले उफ्रिइरहेका नयाँ शिखण्डीहरूको एमालेले मतलब नै राख्दैन ।’ उहाँले भन्नुभयो ।एमाले पर्साका अध्यक्ष डाक्टर विश्वम्भर शर्माको सभापतित्वमा भएको सो कार्यक्रममा एमाले केन्द्रीय सचिव एवंम मधेस प्रदेश इन्चार्ज योगेश भट्टराई, रघुवीर महासेठ, पोलिटब्युरो सदस्य पुरुषोत्तम पौडेल, पूर्वमन्त्री ज्वाला साह, अच्युत मैनाली, केन्द्रीय सदस्यहरू अरविन्द सिंह, राजकुमार गुप्ता लगायतले पनि सम्बोधन गरेका थिए ।

पूर्वसांसद रौनियार एमालेमा प्रवेश
वीरगञ्ज,पूर्वसांसद हरिनारायण रौनियार जनता समाजवादी पार्टी नेपाल त्यागेर एमालेमा प्रवेश गर्नुभएको छ । २०७४ को निर्वाचनमा पर्सा क्षेत्र नम्बर ३ बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका रौनियारसँगै नेपाल सुशासन पार्टीकी केन्द्रीय सदस्य विना देवी लगायत विभिन्न पार्टीका सयौँ नेता कार्यकर्ता पनि एमाले प्रवेश गरेका छन् ।एक वर्षदेखि जसपामा निष्क्रिय रहेका रौनियारले केही दिनअगाडि एमाले अध्यक्ष ओलीसँग भेटघाट गर्नुभएको थियो । सो क्रममा उहाँले एमाले प्रवेश गर्ने प्रस्ताव राख्नुभएको थियो । ओलीले रौनियारको प्रस्ताव स्वीकार गरेपछि पोखरियामा आयोजित कार्यक्रममा उहाँ एमाले प्रवेश गर्नुभएको हो ।पार्टी प्रवेश कार्यक्रममा बोल्दै पूर्वसांसद रौनियारले जसपा र त्यसका अध्यक्ष उपेन्द्र यादवले मधेसको मुद्दा बिर्सिएर निजी स्वार्थमा लागेको आरोप लगाउनुभयो । जसपामा मधेस र मधेसी जनताको हक अधिकारभन्दा पनि सत्ताको लोभमा बढी देखिएको कारण आफूले जसपा त्यागेर एमाले प्रवेश गरेको उहाँको भनाई थियो । उहाँले एमाले अध्यक्ष केपी ओलीबाटै देशको विकास र समृद्धि सम्भव रहेका कारण पनि आफू एमाले प्रवेश गरेको बताउनुभयो ।

Leave a Reply