जनकपुरधाम,मधेश प्रदेशका मुख्यमन्त्री कृष्णप्रसाद यादवले शुक्रबार मधेश प्रदेशसभाबाट विश्वासको प्राप्त गर्नुभएको छ ।मधेश प्रदेशमा सत्ता समिकरण फेरिएपछि मुख्यमन्त्री यादवले आज नेपालको संविधानको धारा १८८ को उपधारा (२) बमोजिम विश्वासको मत लिनका लागि प्रदेशसभामा पेश गर्नु भएको थियो ।
उक्त प्रस्तावमाथिको दलगत छलफल पश्चात सभामुख रामअशिष यादवले निर्णयार्थ पेश गर्दा प्रस्तावको पक्षमा ६२ मत र विपक्षमा ३६ मत प्राप्त भएको थियो । मुख्यमन्त्री यादवको पक्षमा परेका ६२ मत प्रदेशसभामा हाल कायम रहेको प्रदेश सभा सदस्यको संख्या १०३ को बहुमत रहेकाले सभामुख यादवले मुख्यमन्त्री यादवले मधेश प्रदेशसभाबाट विश्वासको मत पाएको घोषणा गर्नुभयो ।
आजको वैठकमा जम्म १०० जना प्रदेशसभा सदस्य सहभागी रहनुभएको थियो । मुख्यमन्त्री यादवले पेश गर्नु भएको प्रस्तावको पक्षमा नेकपा (एमाले) को २४, नेपाली काँग्रेसको २२, नेपाली कम्युनिष्ट पार्टीको १५ र नेपाल संघीय समाजवादी पार्टीकोे १ जना गरी ६२ जना प्रदेशसभा सदस्यको समर्थन प्राप्त भएकोे हो ।
मुख्यमन्त्री यादवले प्रस्तुत गर्नुभएको प्रस्तावको विपक्षमा जसपा नेपाल, जनमत पार्टी र राप्रपा नेपालका प्रदेशसभा सदस्यहरुले मतदान गरेका थिए ।
यसअघि बिहीवार मधेश प्रदेश सरकारमा जनमतबाट मन्त्री रहेका अर्थमन्त्री महेशप्रसाद यादव र समाजकल्याण तथा खेलकुद मन्त्री वसन्त कुशवाहाले राजीनामा बुझाउनुभएको थियो ।मुख्यमन्त्री यादवको निर्देशनपश्चात मन्त्रीहले राजीनामा बुझाएका हुन् । जनमतले गत वैशाख २१ गते समर्थन सरकारबाट फिर्ता लिए पनि यी दुई मन्त्री सरकारमै थिए ।
मधेशमा नेकपा एमालेलाई सत्तामा भित्र्याएर जसपा नेपाललाई सरकारबाट बाहिर निकाल्ने तयारी भएसँगै जसपा र जनमतका मन्त्रीहरूलाई राजीनामा दिन मुख्यमन्त्री यादवले आग्रह गर्नुभएको थियो । मधेश सरकारमा जसपा नेपालबाट भौतिक पूर्वाधार मन्त्री राजकुमार गुप्ता, शिक्षा तथा संस्कृति मन्त्री रानी शर्मा र श्रम तथा यातायात मन्त्री मनिष सुमन भने बर्खास्तमा परेका छन । निर्देशन विपरीत राजीनामा नबुझाएपछि मुख्यमन्त्री यादवले उनीहरुलाई बर्खास्त गर्नुभएको हो ।गत वैशाख २१ गते जनमतले समर्थन फिर्ता लिएपछि उहाँले विश्वासको मत लिनुभएको हो । यसअघि गत जेठ १ गते विश्वासको मत लिनको लागि सदन आह्वान गरिए पनि सत्तारुढ जनता समाजवादी पार्टी नेपाल र आफ्नै पार्टी काँग्रेसभित्रको असन्तुष्टिले पनि फलोर क्रस हुने डरले अन्तिम अवस्थामा आएर उहाँ पछाडि हट्नुभएको थियो ।



















