दुष्यन्त चौधरी
कलैया, २२ कार्तिक । “हाम्रो चाहना समृद्ध समाज निर्माण” भन्ने मूल नाराका साथ जेनजी तथा युथ अफ बारा नामक संगठनले बारामा आफ्नो संरचना विस्तार गर्ने घोषणा गरेको छ । शनिबार कलैयामा आयोजित पत्रकार सम्मेलनमा संगठनका पदाधिकारीहरूले वडा , नगर र जिल्ला स्तरमा संगठन विस्तारको योजना सार्वजनिक गर्दै आगामी कार्ययोजना बारे जानकारी दिएका छन् ।
पत्रकार सम्मेलनका क्रममा संगठनका संयोजकले कार्तिक २९ गतेसम्म नगर स्तरीय समिति गठन गर्ने र त्यसपछि मंसिर ६ गते जिल्ला स्तरीय समिति गठन गर्ने जानकारी दिए । उनका अनुसार संगठनले आगामी दिनमा युवाहरूमाझ नेतृत्व विकास, सामाजिक उत्तरदायित्व र नागरिक सचेतना बढाउने कार्यक्रम सञ्चालन गर्नेछ ।
संगठनका सैरभ पाण्डेले भने , “हाम्रो मुख्य उद्देश्य समाजमा देखिएका विभिन्न समस्याहरू — जस्तै भ्रष्टाचार, शिक्षा र स्वास्थ्यमा हुने बेथिति, सेवा प्रवाहमा कमी, र युवा बेरोजगारी — लाई अन्त्य गर्दै एक न्यायपूर्ण, पारदर्शी र समृद्ध समाज निर्माण गर्नु हो । ”
उनले थपे, “हामी कुनै राजनीतिक दलसँग आबद्ध नभई सामाजिक सुधारका लागि समर्पित युवा समूह हौं । हाम्रो अभियान देश, समाज र नगर सुधारको दिशामा बफादारीपूर्वक अघि बढ्नेछ ।”
पाण्डेले जनाए अनुसार, संगठनले युवा सशक्तीकरण, वातावरण संरक्षण, स्वच्छ शासन, शिक्षा र स्वास्थ्य सुधार जस्ता विषयमा नियमित कार्यक्रम सञ्चालन गर्नेछ । युथ अफ बाराले हालै मानवट मटिअर्वा सडक खण्ड अन्तरगर्त ३ किलोमिटर अधुरो सडक निर्माण कार्यलाई अगाडि बढाउन अभियान सुरु गरेको छ ।
कार्यक्रममा उपस्थित युवा सहभागिहरूले संगठनको योजनाप्रति उत्साह व्यक्त गर्दै नयाँ सोच र नयाँ ऊर्जाका साथ सकारात्मक परिवर्तन ल्याउने संकल्प व्यक्त गरे । उनीहरूले बाराका युवालाई एकताबद्ध गर्दै समाजिक, सांस्कृतिक र शैक्षिक क्षेत्रमा ठोस योगदान पुर्याउने प्रतिबद्धता जनाए ।
संगठनका प्रतिनिधिहरूका अनुसार, आगामी चरणमा विद्यालय, कलेज र टोलस्तरमा समेत सदस्यता अभियान सञ्चालन गरिनेछ । साथै, सामाजिक सञ्जालमार्फत युवाहरूलाई राष्ट्रिय एकता, नेतृत्व, र सामाजिक उत्तरदायित्वका विषयमा निरन्तर सचेतना फैलाउने योजना बनाइएको छ ।

















