पुष्पराज खतिवडा
मनहर्वा,जजारकोटमा गत शुक्रबार गएको विनाशकारी भूकम्पबाट प्रभावितहरुको लागि साना किसान कृषि सहकारी संघ लिमिटेड बाराले ३ लाख ५५ हजार ३३२ रुपैंया रकम आर्थिक सहयोग गर्ने भएको छ ।मंगलवार जिल्लाको डुमरवानामा बसेको संघको बैठकले जिल्लाका १५ वटा प्रारम्भिक साना किसान कृषि सहकारी संस्थाहरुको तर्फबाट रकम संकलन गरी सहयोग गर्ने निर्णय गरेको हो ।संघको निर्णयअनुसार जिल्लाका साना किसान कृषि सहकारी संस्था लिमिटेड मध्ये डुमरवानाले ७१ हजार १ सय ११, तेतरियाले ५१ हजार १ सय ११, फत्तेपुरले ३५ हजार, ईनर्वासिराले ३० हजार १ सय ५१ प्रदान गर्ने भएका छन् । यस्तै प्रसौनाले २५ हजार ५ सय ५५ सपहीले २५ हजार ५ सय ५१ मनहर्वाले २५ हजार, भोडहाले २१ हजार, छातापिपराले १५ हजार १ सय ५१, अमावले १० हजार १ सय ५१, सिम्रौनगढले १० हजार १ सय कचोर्वाले १० हजार १ सय, मोतिसरले १०, हजार १ सय प्रसौनीले १० हजार १ सय र हरैया कृषि सहकारीले ५ हजार १ सय ५१ रुपैया सहयोग गरेको संघका जिल्ला अध्यक्ष मिश्रीलाल सहनीले जानकारी दिनुभयो । सो रकम बुधवारसम्म संकलन गरी बिहीवार सम्बन्धित निकायमा पठाइने बताइएको छ ।साना किसान अभियानबाट नेपाल सरकारमार्फत भूकम्प पीडित परिवारमा राहत वितरण गर्ने गरी सहयोग गर्ने निर्णय भएको कृषि संघ बाराका अध्यक्ष मिश्रीलाल सहनीले जानकारी दिनुभयो ।
‘भूकम्पबाट पश्चिम नेपालमा ठुलो जनधनको क्षति भएको छ । प्रभावित क्षेत्रमा समेत साना किसान कार्यक्रम संचालनमा छ । त्यहाँ धेरै साना किसान सदस्यहरुमा ठुलो क्षेति पुगेको अवस्थामा भूकम्पको प्रभाव नपरेको बाराका साना किसान सहकारीहरुबाट रकम संकलन गरी पठाउन लागिएको हो, अध्यक्ष सहनीले भन्नुभयो ।भूकम्प पीडितहरुको लागि साना किसान सहकारी संस्थाहरुको छाता संस्था नेपाल कृषि सहकारी केन्द्रिय संघ लिमिटेडको अगुवाइमा देशव्यापी रुपमा राहत संकलन गरेर वितरण कार्यसमेत भइरहेको छ । यसै अभियानलाई बाराका साना किसान सहकारीहरुले पनि सहयोग गर्न लागेको संघकी उपाध्यक्ष नयनकला खड्काको भनाई छ ।जिल्लाका साना किसान कृषि संस्थाहरुले २०७२ सालमा आएको गोर्खा भूकम्प, कोसी बाढी र बाराको टार्नाडो पीडितहरुको लागि समेत राहत प्रदान गरेका थिए । सामाजिक उत्तरदायित्व अन्तर्गत सहकारीहरुले विपत्तिमा पीडितलाई सहयोग गर्दै आईरहेको उपाध्यक्ष खडकाले बताउनु भयो ।


















